काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०७ प्रतिशत अर्थात २ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५७.६८ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको ७७ लाख २४ हजार २१३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९४ करोड ४० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ८३ करोड बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘अहिलेको बजारको अवस्था हेर्दा रिभर्सलको संकेत देखिदैन । बजार फर्किन ठूलो टर्नओभर आए मात्रै बजार मुभ हुन सक्छ । पछिल्लो समय भोल्युम त्यति देखिदैन । रास्वपाको सरकार बनेयता बजारमा भोल्युम न्यून देखिन्छ । यति भोल्युमले बजार चलायमान हुन सक्दैन । अहिले भइरहेको १/२ अंकको उतारचढाले बजारमा केही हुँदैन । प्राविधिक पक्ष हेर्दा पनि बजार अहिले साइडवेजमै चलिरहेको देखिन्छ वा मार्केट ‘डाउन ट्रेन्ड’मा छ । अब नयाँ आव सुरु भइसकेपछि बजारमा सानो मोमेन्टम आउन सक्ला ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात १.०८ प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०.२३ प्रतिशत, हाईड्रो ०.०६, म्युचुअल फण्ड ०.२३ र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढ्यो ।
यो दिन लगानी समूह सर्वाधिक अर्थात ०.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०६ प्रतिशत, विकास बैंक ०.२७, फाइनान्स ०.३१, जीवन बीमा ०.०५, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.५६ र अन्य ०.०७ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६÷८७ को सर्वाधिक सेयर कारोबार भयो । यो डिबेञ्चरको आज ३३ करोड १६ लाख बढीको सेयर कारोबार भयो । यस्तै ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४÷८५ को २८ करोड ५७ लाख, नेपाल बैंक डिबेञ्चर २०८७ को २२ करोड ३४ लाख, आँखुखोला जलविद्युतको १५ करोड ३४ लाख र सिटी होटलको ११ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये तीनवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज टक्सार पिखुवाखोला हाईड्रोपावर, स्नो रिभर्स र याम्बालिङ हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै सिटी होटल्सको सेयरमूल्य ४.५१ प्रतिशत र झापा इनर्जीको सेयरमूल्य ३.८१ प्रतिशतले बढ्यो ।
यो दिन कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १०.७६ प्रतिशतले घट्यो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.४५ प्रतिशत र सोपान फर्मास्युटिकल्सको सेयरमूल्य ४.१५ प्रतिशतले घट्यो ।

