काठमाण्डौ । केही वर्षअघिसम्म असार लागेपछि काठमाडौंका अधिकांश ब्रोकर हाउसमा एउटा फरक दृश्य देखिन्थ्यो। स्क्रिनअगाडि भीड हुन्थ्यो, नयाँ कम्पनी, बोनस, लाभांश र बजारको आगामी उकालोबारे बहस चल्थ्यो। कफीको चुस्कीसँगै लाखौंको कारोबार गर्ने योजना बन्थ्यो।
तर यो वर्ष दृश्य फेरिएको छ।
ब्रोकर हाउस खुलेका छन्, स्क्रिनमा नेप्से चलिरहेको छ, तर लगानीकर्ताको अनुहारमा उत्साह हराएको छ। कारोबार भइरहे पनि विश्वास घटेको छ। बजारमा पैसा भन्दा बढी अहिले अन्योल कारोबार भइरहेको जस्तो देखिन्छ।
बिजशालाले आफ्नो नियमित स्तम्भ 'ग्राउण्ड जिरो' अन्तर्गत सोमबार घट्टेकुलो, अनामनगर र बानेश्वरका प्रमुख ब्रोकर हाउस पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरेको थियो।
तीनवटै स्थानमा फरक-फरक अनुहार देखिए, तर उनीहरूको चिन्ता भने लगभग एउटै थियो।
"सरकार आखिर पूँजीबजारसँग गर्न के खोजिरहेको छ ?"
घट्टेकुलो: १ प्रतिशत शुल्कभन्दा ठूलो समस्या 'कन्फ्युजन'
घट्टेकुलोस्थित भिजन सेक्युरिटिजमा बजार खुलेको केहीबेरसम्म जम्मा दुईजना लगानीकर्ता मात्रै थिए।
नेप्से राताम्मे थियो।
तर उनीहरूको बहस बजार घटेको भन्दा पनि सरकारले ल्याएको १ प्रतिशत शेयर हस्तान्तरण शुल्क वरिपरि घुमिरहेको थियो।
एकजनाले सोधे, "यो दोस्रो बजारमै लाग्ने हो कि होइन ?"
अर्काले जवाफ दिए, "मस्यौदामा छ, अझै स्पष्ट छैन। तर यस्तै अस्पष्टताले लगानीकर्ता डराइरहेका छन्।"
छेउमै बसेका अर्का लगानीकर्ताले थपे, "शुल्कभन्दा पनि समस्या सरकारको भाषा हो। आधा बुझिन्छ, आधा बुझिँदैन। अनि सामाजिक सञ्जालमा हल्ला फैलिन्छ, मानिसहरू नबुझीकन शेयर बेच्न थाल्छन्।"
घट्टेकुलोमा भेटिएका अधिकांश लगानीकर्ताको निष्कर्ष एउटै थियो- सरकारले नीति ल्याउनु भन्दा पहिले त्यसको स्पष्ट व्याख्या गर्न जान्नुपर्छ।
अनामनगर: "बजार फेरि चल्न कम्तीमा एक वर्ष लाग्छ"
अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्टमा दृश्य अझै निराशाजनक थियो।
सधैं भीड हुने हलमा दुईजना मात्रै लगानीकर्ता स्क्रिन हेरिरहेका थिए।
कुरा बजार कहाँ पुग्ला भन्नेभन्दा पनि कहिले उठ्ला ? भन्नेमा केन्द्रित थियो।
एकजना लगानीकर्ताले भने, "यो सरकार आएपछि लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाइसके। तर सरकारले बजारलाई प्राथमिकतामै राखेको देखिँदैन।"
अर्काले झन् निराश स्वरमा थपे, "२६ सय तल पनि जान सक्छ। पुरानो लयमा फर्किन एक-डेढ वर्ष लाग्न सक्छ।"
राजनीतिक नेतृत्वप्रति उनीहरूको असन्तुष्टि पनि खुला रूपमा देखिन्थ्यो।
एक लगानीकर्ताले भने, "सरकारमा रहँदा पूँजीबजारको पक्षमा बोल्नेहरू अहिले मौन छन्।"
बानेश्वर: डर पनि छ, आशा पनि बाँकी छ
बानेश्वरस्थित नागरिक स्टक डिलरमा तुलनात्मक रूपमा बढी लगानीकर्ता थिए।
यहाँ बहस दुई भागमा विभाजित थियो।
एउटा समूहले १ प्रतिशत शुल्कलाई गलत रूपमा बुझेर सामाजिक सञ्जालमा अनावश्यक त्रास फैलाइएको बताइरहेको थियो।
अर्को समूह भने सरकारको पछिल्लो सम्पत्ति शुद्धीकरण अनुसन्धान र उच्च प्रोफाइल व्यवसायीमाथिको कारबाहीले बजारको ठूलो पूँजी किनारामा पुगेको विश्लेषण गर्दै थियो।
एक महिला लगानीकर्ताले भनिन्, "ठूला लगानीकर्ता बजारमा नफर्किएसम्म नेप्सेमा गति आउँदैन। अहिले डर धेरै छ।"
तर त्यही समूहमा केही लगानीकर्ताले भने, "सरकारले गलतलाई कारबाही गरोस्, तर सही लगानीकर्तालाई पनि सरकारप्रति विश्वास हुने वातावरण बनाउनुपर्छ।"
तीन ब्रोकर, एउटै निष्कर्ष
घट्टेकुलोमा अन्योल भेटियो।
अनामनगरमा निराशा।
बानेश्वरमा डर र आशा मिसिएको मनोदशा।
तर तीनै ठाउँका लगानीकर्ताको साझा निष्कर्ष एउटै थियो- बजार अहिले सूचकले होइन, नीतिले चलिरहेको छ।
नयाँ धितोपत्र बोर्ड अध्यक्ष नियुक्त भएपछि केही आशा जागे पनि लगानीकर्ता तत्काल उत्साहित देखिएका छैनन्।
उनीहरू अहिले नयाँ योजना, नयाँ घोषणा वा नयाँ भाषणभन्दा बढी स्पष्ट नीति, स्थिर कर व्यवस्था र सरकारको सकारात्मक सन्देश खोजिरहेका छन्।
किनभने उनीहरूको बुझाइमा पूँजीबजारमा अहिले पैसाको अभावभन्दा विश्वासको अभाव गहिरो बन्दै गएको छ।

