काडमाण्डौ । देशकै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा राखिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
उपत्यकाको भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट मंगलबार कालीमाटी बजारमा बिक्रिकालागि ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत अर्गानोफस्फेट नामको विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले गएको शुक्रबार कालीमाटी तरकारी बजारका १२ तरकारी पसलको १२ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण गर्ने क्रममा रायो सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोगकालागि अयोग्य रहेको जनाइएको छ ।
नेपाल सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाइएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिने गरेको छ ।
यस्तै १२ असारमा पनि धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा अत्यधिक विषादी भेटिएको थियो । विषादी परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत र मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत विषादी पाइएको थियो ।

