काठमाण्डौ । सोमबार पनि सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.६३ अंकले घटेर २ हजार ६०८.३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४५२.७९ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३६५ वटा स्क्रिप्टको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २५ करोड ८७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ६७ करोड बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजार पछिल्लो समय अस्वभाविक रुपमा घटिरहेको छ । बजार यसरी घट्नुपर्ने त्यस्तो कारण त थिएन तर सरकारको धरपकडले गर्दा लगानीकर्ताको मनोबल खस्किएको छ, जसकारण लगानीकर्ता प्यानिक बनेका छन् । साथै अहिलेको बजारलाई थोरै असार मसान्तको पनि पनि देखिएको छ ।’
उनले थपे, ‘अब सायद बजार यो भन्दा तल नजाला र यो भन्दा घट्ने अवस्था छैन । बजार अब जुनकुनै दिन पनि फर्किन सक्छ । विशेषगरी अहिले बजारमा ठूला लगानीकर्ताहरु नभएका कारण पनि बजारले लय लिन नसकेको हो । अर्थमन्त्रीले पनि नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई लगानीकर्ताको हितमा काम गर्न निर्देशन दिनुभएको छ । आशा गरौं अब नयाँ आव सुरु भइसकेपछि बजार फर्किन सक्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात १.७४ प्रतिशतले घट्यो। यस्तै बैंकिङ समूह ०.७३ प्रतिशत, विकास बैंक ०.०१, फाइनान्स १, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, लघुवित्त ०.५६ , म्युचुअल फण्ड ०.३१, निर्जीवन बीमा ०.६१ र अन्य १.३१ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सिद्धार्थ बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो बैंकको आज १३ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । यस्तै टक्सार पिखुवा खोला हाईड्रोको ११ करोड ३२ लाख, आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ६१ लाख र याम्बालिङ हाईड्रोको ८ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज स्नो रिभर्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको १०.८० र श्रृजनशिल लघुवित्तको ७.३९ प्रतिशतले बढ्यो ।
यो दिन टक्सार पिखुवाखोलाको सेयरमूल्य सर्वाधिक अर्थात १४.०३ प्रतिशतले घट्यो । यस्तै याम्बालिङ हाईड्रोको सेयरमूल्य ८.२३ प्रतिशत र सोपान फर्मास्युटिकल्सको सेयरमूल्य ५.९० प्रतिशतले घट्यो ।

