काठमाण्डौ । नेपालको बैंकिङ क्षेत्रमा नबिल बैंक लिमिटेड ले फेरि एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। बैंकले लगातार तेस्रो वर्ष उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड जित्नुका साथै पहिलो पटक प्रदान गरिएका दुई नयाँ विधाका सम्मानसमेत हात पार्दै एकैपटक तीन प्रतिष्ठित अवार्ड जित्ने उपलब्धि हासिल गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड अन्तर्गत नबिल बैंकले निजी क्षेत्रका वाणिज्य बैंकमध्ये उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्राप्त गरेको हो। यससँगै बैंकले पहिलो पटक समावेश गरिएका कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड मा पनि सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त सम्मान हस्तान्तरण गरेका थिए।
आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्याङ्कन गर्दै वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपनालगायतका सूचकका आधारमा नबिल बैंकलाई उत्कृष्ट ठहर गरेको जनाएको छ। यसअघि पनि बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही गोल्ड अवार्ड जितिसकेको थियो। यस वर्षको पुरस्कृत प्रतिवेदन दक्षिण एसियाली स्तरको साफा बीपीए अवार्ड का लागि समेत मनोनयन हुने जानकारी आयोजकले दिएको छ।
देशभर २६६ शाखा, ३१८ एटीएम र २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको नबिल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ, सुशासन र दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।