काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड दिईएको छ । कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए । हरित अर्थतन्त्रको नयाँ अवधारणाले विश्वव्यापी रूपमा गति लिइरहेको उल्लेख गर्दै उनले नयाँ विश्वको नेतृत्व लिन सक्षम युवाशक्ति तयार हुनुपर्नेमा जोड दिए । विश्वव्यापी सञ्जाल विस्तार, लगानी आकर्षण तथा रोजगारी सिर्जनामा युवाले अग्रसर रहि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सले युवामा गरिएको लगानीले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
चेम्बरको हीरक जयन्ती मुल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले युवाले नवीन सोच र नयाँ व्यवसायिक क्षेत्रको पहिचान गरी उद्यमशीलतामा अघि बढ्नुपर्नेमा जोड दिए । विदेशका युथ चेम्बरहरूसँग सम्बन्ध विस्तार गरी नयाँ प्रविधि, ज्ञान र व्यवसायिक अभ्यास आदानप्रदान गर्न सके व्यापार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको पहिलो संस्था भएकाले यसको ७५ वर्षे गौरवशाली यात्रासँग जोडिनु आफैंमा गर्वको विषय भएको उनले उल्लेख गरे । व्यापारमा जोखिम रहे पनि त्यसले सिर्जना गर्ने रोजगारी, उत्पादन र अर्थतन्त्रमा पु¥याउने योगदान अत्यन्त महत्वपूर्ण रहेको उनले बताए ।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकका लागि सम्भावना भएका नयाँ क्षेत्रहरूको पहिचान गरी युवाले अर्थतन्त्रमा नवीनता भित्र्याउन सक्ने बताए । नवप्रवर्तनसम्बन्धी नीतिगत अवसरहरूको अधिकतम उपयोग गर्दै सिर्जनशील सोचका साथ उद्यममा अघि बढ्न उनले युवाहरूलाई आग्रह गरे ।
नेपाल युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले सफल उद्यमको यात्रा एउटा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताए । युवाका विचार, ऊर्जा, लगाव र दूरदृष्टिलाई समाजले विश्वास र सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नेटवर्क विस्तार तथा व्यवसायिक अवसर सिर्जनाका लागि नेपाल युथ चेम्बर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा युथ चेम्बर उपाध्यक्ष कश्यप शाक्य, महासचिव नेहा श्रेष्ठ अमात्य, कोषाध्यक्ष स्कन्द अमात्य लगायतले वक्ताको रुपमा आफनो धारणा राखेका थिए भने सहभागी युवा उद्यमीहरूले मुलुकमा देखिएको आर्थिक मन्दी, तरलता, लगानीको संकुचन, स्टार्टअप प्रवद्र्धन, सहुलियतपूर्ण कर्जा, व्यवसायमैत्री वातावरण तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषय उठाएका थिए । उनीहरूले सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्ने स्पष्ट नीति, सहज वित्तीय पहुँच र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा युवा उद्यमी, उद्योगी, व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

