काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यो वृद्धिदर दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
कार्यालयका अनुसार तेस्रो त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा वृद्धि भई अर्थतन्त्रको आकार करिब ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ। अघिल्लो त्रैमासमा अर्थतन्त्रको आकार करिब ६४ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम संकलन, व्यापार सेवा तथा यातायातलगायतका गतिविधिमा उल्लेख्य वृद्धि हुँदा समग्र आर्थिक विस्तारमा टेवा पुगेको कार्यालयले जनाएको छ।
१८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक १६ क्षेत्रमा धनात्मक वृद्धिदर देखिएको छ। तीमध्ये विद्युत् तथा ग्यास सम्बन्धित क्रियाकलापमा सबैभन्दा उच्च २४.८८ प्रतिशत वृद्धि भएको छ। यसपछि वित्तीय तथा बीमा क्षेत्र, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशः १०.२७ प्रतिशत, ७.८३ प्रतिशत र ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ।
कृषि क्षेत्र, जुन अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा हो, यस अवधिमा कमजोर प्रदर्शन गरेको देखिएको छ। कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर करिब ०।०४ प्रतिशतले ऋणात्मक रहेको कार्यालयको अनुमान छ। समग्र कृषि क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशत मात्र रहेको छ।
त्यसैगरी आवास तथा भोजन सेवा, बैंक तथा बीमा तथा औद्योगिक उत्पादन क्षेत्रमा क्रमशः २.३० प्रतिशत, १.०७ प्रतिशत र ०.८३ प्रतिशतले ऋणात्मक वृद्धि देखिएको छ।

