काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र मकैको आयातमा उच्च गिरावट आउँदा समग्र खाद्यान्न आयातको परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.६५ प्रतिशत घटेको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म यो नाकाबाट तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो आयात भएको थियो। यसअनुसार तीन महिनाको खाद्यान्न आयात पाँच करोड ५४ लाख सात हजार किलोले घटेको छ।
आयात भएका खाद्यान्नमा चामल, धान, मकै, गहुँ, माल्ट, फापर र कोदोलगायत छन्। प्रमुख खाद्यान्नमध्ये धानको आयात परिमाण ८२.२६ प्रतिशत र मकैको ७९.९६ प्रतिशत घटेको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलोमा सीमित भएको छ। धान आयातको मूल्य पनि एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा झरेको छ।
मकैको आयातमा पनि उस्तै गिरावट देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकोमा यस वर्ष ६७ लाख ३६ हजार ४३७ किलो मात्रै भित्रिएको छ। मकै आयातको मूल्य एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँ कायम भएको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चामलको आयातसमेत घटेको छ। चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल भित्रिएको थियो। यसअनुसार चामलको आयात परिमाण २७.९५ प्रतिशत घटेको छ।
चामल आयातको मूल्य पनि अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु वर्ष ७० करोड रुपैयाँमा सीमित भएको छ।
फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा १६ लाख ४० हजार ५५५ किलो मात्रै आयात भएको कार्यालयले जनाएको छ।
कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चामल, धान र मकैको संयुक्त आयात मूल्य अघिल्लो वर्ष चार अर्ब १६ करोड २२ लाख रुपैयाँ रहेकोमा यस वर्ष एक अर्ब ६४ करोड ३३ लाख रुपैयाँमा झरेको छ। यी तीन खाद्यान्नको आयात मूल्यमा मात्रै दुई अर्ब ५१ करोड ८९ लाख रुपैयाँ अर्थात् ६०.५२ प्रतिशत कमी आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।