सोमबार, असार २९,२०८३ 01:43:29
Bizshala
  • सोमबार, असार २९,२०८३ 01:43:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साञ्जेन खोलाले नौ महिनामै बेच्यो ८५ करोडको बिजुली, चिनियाँ बहुराष्ट्रिय कम्पनीको मुख्य लगानी

नोक्सानीबाट नाफामा फर्कियो सालासुंगी पावर, कर्जा रेटिङ पनि ‘डबल बी प्लस’मा स्तरोन्नति

Laxmi Sunrise Bank Limited
साञ्जेन खोलाले नौ महिनामै बेच्यो ८५ करोडको बिजुली, चिनियाँ बहुराष्ट्रिय कम्पनीको मुख्य लगानी

 

 काठमाण्डौ । चिनियाँ बहुराष्ट्रिय कम्पनीको मुख्य लगानी रहेको सालासुंगी पावर लिमिटेडले सञ्चालन गरेको ७८ मेगावाट क्षमताको साञ्जेन खोला जलविद्युत् आयोजनाले सन् २०२६ को नौ महिनामै करिब ८५ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ।

ऊर्जा बिक्री बढ्नुका साथै विद्युत् महसुल समायोजन हुँदा कम्पनीले समीक्षा अवधिमा ८४ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो। सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ५१ करोड ७० लाख रुपैयाँ थियो।

आम्दानीसँगै कम्पनीको नाफामा पनि उल्लेख्य सुधार आएको छ। गत आर्थिक वर्षमा २१ करोड ६० लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले सन् २०२६ को नौ महिनामा १५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ८५.७० प्रतिशत रहेकामा समीक्षा अवधिमा बढेर ८८.३६ प्रतिशत पुगेको छ।

कर्जा भुक्तानी र ब्याजदरमा आएको गिरावटका कारण कम्पनीको ब्याज भुक्तानी क्षमता पनि बलियो बनेको छ। यसअघि १.०१ गुणा रहेको इन्टरेस्ट कभरेज रेसियो बढेर ३.७९ गुणा पुगेको छ। यसको अर्थ कम्पनीको सञ्चालन नाफा वार्षिक ब्याज दायित्वभन्दा ३.७९ गुणा बढी रहेको छ।

New Office
CG Motors
Garima Development Bank

जुलाईदेखि कन्टिन्जेन्सी हट्ने अपेक्षा

साञ्जेन खोला आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसके पनि चिलिमे सबस्टेसनसँग जोडिएको प्रसारण प्रणालीमा देखिएको अवरोधका कारण नेपाल विद्युत् प्राधिकरणले आयोजनालाई कन्टिन्जेन्सी योजनाअन्तर्गत राखेको थियो।

कन्टिन्जेन्सीमा रहँदा प्रसारण लाइनको क्षमताअनुसार आयोजनाको विद्युत् उत्पादन कटौती हुन सक्ने तथा उत्पादित सम्पूर्ण बिजुली प्राधिकरणले लिन नसक्ने जोखिम रहन्छ।

हालै मस्र्याङ्दी–भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएकाले विद्युत् प्रवाहमा देखिँदै आएको अवरोधको जोखिम घट्ने अपेक्षा गरिएको छ। यससँगै जुलाई २०२६ देखि आयोजना प्राधिकरणको कन्टिन्जेन्सी योजनाबाट बाहिरिने अनुमान गरिएको छ।

कन्टिन्जेन्सी हटेपछि आयोजनाले उच्च क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने र कम्पनीको आम्दानी तथा नगद प्रवाहमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

कम्पनीमा चिनियाँ लगानीकर्ताको ८५ प्रतिशत सेयर

सालासुंगी पावरको मुख्य प्रवर्द्धक चीनको बहुराष्ट्रिय कम्पनी चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएचईसी) हो। सीएचईसीको हङकङस्थित सहायक कम्पनी वाइड रिसोर्सेज लिमिटेडको सालासुंगी पावरमा ८५ प्रतिशत सेयर स्वामित्व छ।

सीएचईसी विश्वका एक सयभन्दा बढी देश तथा क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निर्माण कम्पनी हो। कम्पनीका ९० भन्दा बढी शाखा तथा प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

नेपाल विद्युत् प्राधिकरणसँग भएको दीर्घकालीन विद्युत् खरिद सम्झौताअनुसार आयोजनाले सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा बिजुली बिक्री गर्नेछ। उक्त दरमा वार्षिक तीन प्रतिशतका दरले आठपटक मूल्यवृद्धि हुने व्यवस्था छ।

सरकारको जलविद्युत् क्षेत्रलाई प्राथमिकता दिने नीति, कर सहुलियत तथा नेपाल राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकहरूलाई गरेको अनिवार्य व्यवस्थाले आयोजनाको दीर्घकालीन व्यावसायिक सम्भावनालाई सहयोग पुर्‍याएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डलर महँगिँदा लागत दुई अर्बले बढ्यो

आयोजनामा केही वित्तीय र सञ्चालन जोखिम भने अझै कायम छन्। नदी प्रवाहमा आधारित आयोजना भएकाले यसको उत्पादन पानीको उपलब्धता र जलविज्ञानसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा आयोजनाको कुल लागत १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँबाट बढेर १७ अर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको थियो।

लागत वृद्धिबाट सिर्जना भएको वित्तीय खाडल व्यवस्थापन गर्न सञ्चालकहरूबाट तीन अर्ब १३ करोड ८० लाख रुपैयाँ ऋण लिने योजना बनाइएको थियो। तर, जुन २०२६ को मध्यसम्ममा प्रतिबद्ध रकमको करिब ७० प्रतिशत मात्र प्राप्त भएको छ।

अप्रिल २०२६ को मध्यसम्म कम्पनीको गियरिङ रेसियो २.६० गुणा रहेको छ। यसको अर्थ कम्पनीको कुल कर्जा स्वपुँजीको तुलनामा २.६ गुणा बढी छ। उच्च ऋण अनुपातका कारण कम्पनीमा केही वित्तीय जोखिम कायमै रहेको देखिन्छ।

नौ अर्बको कर्जाको रेटिङ स्तरोन्नति

कम्पनीले नौ अर्ब नौ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले यसअघि कम्पनीको कर्जालाई दिएको ‘डबल बी’ रेटिङ स्तरोन्नति गर्दै ‘डबल बी प्लस’ कायम गरेको छ।

कम्पनीले सन् २०२५ फेब्रुअरी ११ का लागि तोकिएको व्यावसायिक उत्पादन मितिभित्रै सफलतापूर्वक उत्पादन सुरु गरेकाले रेटिङमा सुधार आएको हो।

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको आयोजनाको प्लान्ट लोड फ्याक्टरमा हुने सुधार, प्राधिकरणको कन्टिन्जेन्सी योजनाबाट पूर्ण रूपमा बाहिरिने अवस्था र ऋणभार घटाउँदै वित्तीय सूचक मजबुत बनाउने क्षमता आगामी रेटिङका मुख्य आधार हुने इन्फोमेरिक्सले जनाएको छ।

कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा सु यानसोङ छन्। कम्पनीको प्रबन्ध निर्देशकमा विष्णुराज अधिकारी रहेका छन्। अधिकारीसँग ऊर्जा, शिक्षा, पर्यटन तथा वित्तीय सेवाका क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.