काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानरत नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राख्न विशेष अदालतले पाँचौँ पटक म्याद थप गरेको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अर्थात् ‘मनी लाउन्डरिङ’सँग सम्बन्धित विषयमा विभागले अनुसन्धान गरिरहेको छ।
विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउपछि विभागले उनलाई विशेष अदालतबाट पटक–पटक म्याद लिएर न्यायिक हिरासतमा राख्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि चार पटक म्याद थप भइसकेकोमा सोमबार पाँचौँ पटक थप तीन दिनको अनुमति दिइएको हो। यद्यपि, उनीमाथिको अनुसन्धान निष्कर्षमा पुगिसकेको छैन र औपचारिक रूपमा दोषी ठहरसमेत भइसकेका छैनन्।

