काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले नेपालको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव कायमै रहने जनाएको छ। विभागले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम रहेकाले सावधानी अपनाउन उहाँले आग्रह गरे।
‘सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय प्रशासन, सम्बन्धित निकाय र सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनुपर्छ,’ उनले भने।
विभागले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाएको छ। विभागले मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही माथि अर्थात् तराई भूभाग नजिक रहेको छ, जसका कारण देशका विभिन्न क्षेत्रमा बदलीसहित वर्षाको सम्भावना देखिएको हो।
तीन दिनको मौसम पूर्वानुमान
विभागका अनुसार मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बुधबार दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, बुधबार राति देशभर सामान्य बदली रहने र केही हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति पनि देशभर सामान्य बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागको मौसमी बुलेटिनमा उल्लेख छ।

