बुधबार, असार ३१,२०८३ 02:36:33
Bizshala
  • बुधबार, असार ३१,२०८३ 02:36:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हर्कको दार्चुला पुल खर्चमा गडबडीः पुल बनाउन ५५ लाख खर्च हुँदा खाना र गाडीभाडामै सकियो ७४ लाख !

Laxmi Sunrise Bank Limited
हर्कको दार्चुला पुल खर्चमा गडबडीः पुल बनाउन ५५ लाख खर्च हुँदा खाना र गाडीभाडामै सकियो ७४ लाख !

काठमाण्डौ। श्रमदान र जनसहभागिताको वैकल्पिक विकास मोडल अघि सार्दै आएका हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको दार्चुला झोलुङ्गे पुल निर्माण अभियानको खर्च विवरणले गम्भीर प्रश्न जन्माएको छ।

सार्वजनिक विवरणअनुसार पुलको सामग्री खरिदमा भएको खर्चभन्दा प्रशासनिक खर्च करिब १९ लाख रुपैयाँ बढी छ। अझ गम्भीर विषय, प्रशासनिक खर्चअन्तर्गत देखाइएका चारवटा उपशीर्षकको रकम जोड्दा र त्यसको ‘जम्मा’ शीर्षकमा उल्लेख गरिएको रकम नै मिल्दैन।

हर्क साम्पाङ नेतृत्वमा दार्चुलाको दुम्लिङमा सञ्चालन गरिएको झोलुङ्गे पुल निर्माण अभियानका लागि बैंक र नगदबाट कुल २ करोड ५० लाख ३७ हजार १०१ रुपैयाँ संकलन भएको र त्यसमध्ये १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको थियो। अभियानसँग अहिले १ करोड २० लाख ६१ हजार ३९३ रुपैयाँ मौज्दात रहेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

सामग्रीभन्दा प्रशासनमै १९ लाख बढी

बिजशालालाई प्राप्त खर्च विवरणमा दुम्लिङ झोलुङ्गे पुलका सामग्री खरिदका लागि ५५ लाख १३ हजार ५२३ रुपैयाँ खर्च भएको उल्लेख छ।

तर, प्रशासनिक खर्च शीर्षकमा ७४ लाख १५ हजार ६५१ रुपैयाँ देखाइएको छ। अर्थात् पुल सामग्रीमा भएको खर्चभन्दा प्रशासनिक खर्च १९ लाख २ हजार १२८ रुपैयाँ बढी छ।

कुल खर्चको करिब ५७.३६ प्रतिशत प्रशासनिक शीर्षकमै गएको देखिन्छ। पुल सामग्री खरिदतर्फ कुल खर्चको करिब ४२.६४ प्रतिशत मात्र प्रयोग भएको छ।

सार्वजनिक विवरणअनुसार प्रशासनिक खर्च यस्तो छ:

यातायातमा २८ लाख ४८ हजार ३८३ रुपैयाँ, खानामा १६ लाख ४० हजार ६४२ रुपैयाँ, बस्नका लागि क्याम्प व्यवस्थापनमा ५ लाख ९१ हजार ५९५ रुपैयाँ तथा ढुवानी र विविध खर्चमा १२ लाख ४७ हजार ४०० रुपैयाँ खर्च भएको उल्लेख छ। यी खर्च शीर्षक सार्वजनिक कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो।

यातायात र खाना खर्च मात्रै जोड्दा ४४ लाख ८९ हजार २५ रुपैयाँ पुग्छ। यो पुल सामग्री खरिदमा भएको भनिएको कुल खर्चको ८१ प्रतिशतभन्दा बढी हो।

विवरणमै १० लाख ८७ हजारको हिसाब गायब

खर्च रकम ठूलो देखिनुभन्दा पनि सार्वजनिक विवरणभित्रै देखिएको हिसाबको अन्तरले थप शंका जन्माएको छ।

प्रशासनिक खर्चका चारवटा शीर्षक जोड्दा कुल रकम ६३ लाख २८ हजार २० रुपैयाँ मात्र हुन्छ। तर, सोही विवरणको ‘जम्मा’ शीर्षकमा प्रशासनिक खर्च ७४ लाख १५ हजार ६५१ रुपैयाँ लेखिएको छ।

यसरी उपशीर्षकहरूको जोड र जम्मा रकमबीच १० लाख ८७ हजार ६३१ रुपैयाँको अन्तर देखिएको छ।

यो रकम अर्को कुनै खर्च शीर्षकमा प्रयोग भएको हो, तालिकामा शीर्षक छुटेको हो वा जोड्दा त्रुटि भएको हो भन्ने विवरण कागजातमा खुलाइएको छैन।

अर्कोतर्फ, प्रशासनिक खर्चको यही ७४ लाख १५ हजार ६५१ रुपैयाँमा सामग्री खरिदको ५५ लाख १३ हजार ५२३ रुपैयाँ जोड्दा मात्रै सार्वजनिक गरिएको कुल खर्च १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ पुग्छ। यसबाट समग्र कुल खर्च निकाल्दा प्रशासनिक खर्चको नमिलेको ‘जम्मा रकम’ नै आधार बनाइएको देखिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘यातायात र खाना खर्चको आधार के हो ?’

खर्च विवरण बाहिरिएपछि सामाजिक सञ्जालमा यातायात, खाना र प्रशासनिक खर्चको आकारलाई लिएर प्रश्न उठेका छन्। कतिपयले श्रमदानमा निर्माण गरिएको भनिएको पुलमा यातायात र खानामै झण्डै ४५ लाख रुपैयाँ कसरी खर्च भयो भन्ने जिज्ञासा राखेका छन्।

दार्चुलाको विकट भूगोल, निर्माण सामग्रीको ढुवानी, लामो दूरीको यात्रा र श्रमदाताको व्यवस्थापनका कारण खर्च उच्च हुन सक्ने आधार रहन्छ। तर, सार्वजनिक गरिएको एकमुष्ट विवरणमा यात्राको संख्या, प्रयोग भएका सवारीसाधन, ढुवानीको दूरी, प्रतियुनिट दर, खाना खाने व्यक्तिको संख्या, क्याम्प सञ्चालन अवधि तथा ‘विविध खर्च’भित्र समेटिएका विषय खुलाइएको छैन।

त्यसैले रकम उच्च देखिएको आधारमा मात्र अनियमितता भएको निष्कर्ष निकाल्न मिल्दैन। तर, सर्वसाधारणबाट स्वेच्छिक सहयोग उठाइएको अभियान भएकाले प्रत्येक ठूलो खर्चको बिल, भर्पाई, परिमाण र भुक्तानी प्राप्त गर्ने व्यक्ति वा संस्थाको विवरण सार्वजनिक गर्नु आवश्यक देखिन्छ।

हर्क साम्पाङले पुल निर्माणलाई राजनीतिक स्वार्थरहित जनसहभागिताको अभियानका रूपमा प्रस्तुत गरेका थिए। पुल दार्चुलाको व्याँस गाउँपालिका-२ स्थित दुम्लिङकाठाको घट्टेखोलामा निर्माण गरिएको हो। प्रारम्भमा १२० मिटर लामो पुल बनाउन करिब एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

पारदर्शिताको दाबी गरिएको अभियानमा अब मुख्य प्रश्न रकम खर्च भयो कि भएन भन्ने मात्र होइन, सार्वजनिक गरिएको खर्च विवरणको सामान्य जोडसमेत किन मिलेन भन्ने हो। अभियान व्यवस्थापनले १० लाख ८७ हजार ६३१ रुपैयाँको अन्तरबारे स्पष्ट हिसाब नदिएसम्म प्रशासनिक खर्चमाथिको प्रश्न कायमै रहनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.