काठमाण्डौ । सरकारले उठाउने पूर्वाधार कर २२.२७ प्रतिशतले घटेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा पूर्वाधार करबाट १७ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
यो रकम अघिल्लो आवको तुलनामा ५ अर्ब रुपैयाँ कम हो । अघिल्लो आवमा सरकारले पूर्वाधार करमार्फत २२ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सरकारले मुख्य रूपमा पेट्रोलियम पदार्थको आयातमा भन्सार बिन्दुमै पूर्वाधार विकास कर असुल गर्दै आएको छ । यसबाट संकलित रकम पूर्वाधार विकासका लागि उपयोग गर्ने उद्देश्य राखिएको छ ।
तर, चालु आर्थिक वर्ष २०८३/८४ देखि लागू भएको आर्थिक ऐनअनुसार सरकारले पूर्वाधार विकास कर हटाएर त्यसको सट्टा हरित कर लागू गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा भने पूर्वाधार करबाट २२ अर्ब २ करोड रुपैयाँ संकलन भएको थियो। उक्त रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा ६ प्रतिशतले बढी रहेको तथ्यांकले देखाएको छ ।

