शुक्रबार, श्रावण १,२०८३ 08:26:30
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 08:26:30
Bizshala
Global IME Bank Limited

पूँजीबजारमा संस्थागत लगानीकर्ता बढाउने सेबोनको तयारी, स्मार्ट इन्भेष्टमेन्टमा जोड

पूँजीबजारमा संस्थागत लगानीकर्ता बढाउने सेबोनको तयारी, स्मार्ट इन्भेष्टमेन्टमा जोड
New Office

काठमाण्डौ । नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उच्चस्तरीय छलफल सम्पन्न गरेको छ। विकसित मुलुकका पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय भूमिकाले बजारलाई स्थायित्व, तरलता र दीर्घकालीन लगानी संस्कृतिमा टेवा पुर्‍याएको अनुभवलाई आधार मान्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ मा यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा सम्पन्न छलफलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीको लगानी स्वीकृत गर्ने निकाय नेपाल बीमा प्राधिकरणका उच्च अधिकारी सहभागी थिए। छलफलका क्रममा सहभागी संस्थाहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा नीतिगत सुधार र सहजीकरण आवश्यक पर्ने विषयमा आफ्ना धारणा राखेका थिए।

बोर्डका अनुसार नेपालको पूँजी बजारमा व्यक्तिगत (रिटेल) लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको उपस्थिति अपेक्षाकृत कमजोर छ। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजार स्थायित्व, मूल्य निर्धारण (प्राइस डिस्कभरी), तरलता र सुशासन अभिवृद्धिका लागि संस्थागत लगानीकर्ताको सक्रिय, विविधीकृत र जिम्मेवार सहभागिता आवश्यक रहेको बोर्डको निष्कर्ष छ।

छलफलमा अध्यक्ष भट्टले परम्परागत लगानी शैली (Traditional Investment Approach) बाट स्मार्ट लगानी शैली (Smart Investment Approach) तर्फ अग्रसर हुन संस्थागत लगानीकर्तालाई आग्रह गरे। उनले बजारको स्थायित्व र दिगोपनामा संस्थागत लगानीकर्ताले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड तयार रहेको बताए।

बोर्डले प्राप्त सुझाव र छलफलका निष्कर्षका आधारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तथा पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने नीति अघि बढाउने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.