काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई हिरासतमा नराखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
स
म्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी सम्पत्ति लुकाउन तथा त्यसको स्रोत छल्न सहयोग गरेको आरोपमा पौडेललाई मतियारका रूपमा प्रतिवादी बनाएको थियो।
विभागले पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी गरी १६ प्रतिवादीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी सोहीबराबरको रकम असुल गर्न तथा उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्न मागदाबी गरिएको छ।

