आईतवार, श्रावण ३,२०८३ 11:09:55
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 11:09:55
Bizshala
Global IME Bank Limited

विश्वकप फाइनलमा ट्रम्पको प्रभावः ट्रफी हस्तान्तरणदेखि कूटनीतिक भेटसम्म

विश्वकप फाइनलमा ट्रम्पको प्रभावः ट्रफी हस्तान्तरणदेखि कूटनीतिक भेटसम्म
New Office

 

काठमाण्डौ ।  फिफा विश्वकप फुटबलको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्दै गर्दा मैदानभित्रका खेलाडीसँगै मैदानबाहिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका पनि चर्चाको केन्द्रमा रहने भएको छ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार हुने फाइनल खेल ट्रम्पले रंगशालामै पुगेर प्रत्यक्ष अवलोकन गर्नेछन्। खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय भएको छ। यो ट्रम्पले रंगशालामा पुगेर हेर्ने यस विश्वकपको पहिलो खेल हुनेछ।

ट्रम्प र इन्फान्टिनोले प्रतियोगितालाई ऐतिहासिक रूपमा सफल भएको दाबी गर्दै आएका छन्। न्युयोर्कस्थित ट्रम्प टावरमा आयोजित कार्यक्रममा दुवैले विश्वकपले अमेरिकामा फुटबलको लोकप्रियता बढाएको र विभिन्न देशका समर्थकलाई जोडेको बताएका थिए।

तर ट्रम्पको भूमिकालाई लिएर प्रतियोगिताभर विवाद पनि देखियो। अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले पाएको रातो कार्डपछि लगाइएको प्रतिबन्ध पुनरवलोकन गर्न ट्रम्पले इन्फान्टिनोलाई फोन गरेको सार्वजनिक भएको थियो। त्यसपछि फिफाको अनुशासन समितिले बालोगुनको प्रतिबन्ध १२ महिनाका लागि निलम्बन गरेपछि फुटबलमा राजनीतिक हस्तक्षेप भएको आरोप लागेको थियो।

इन्फान्टिनोले भने अनुशासन समितिले स्वतन्त्र रूपमा निर्णय गरेको दाबी गर्दै आएका छन्। तर असामान्य प्रक्रियाबाट प्रतिबन्ध हटाइएको भन्दै युरोपेली फुटबल निकाय तथा अधिकारवादी संस्थाहरूले फिफाको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

फाइनलसँगै उच्चस्तरीय कूटनीतिक जमघट

स्पेन–अर्जेन्टिनाबीचको उपाधि भिडन्त खेलकुदसँगै उच्चस्तरीय कूटनीतिक भेटघाटको अवसरसमेत बन्ने भएको छ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम ट्रम्पको निमन्त्रणामा फाइनल हेर्न अमेरिका पुग्ने भएकी छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र स्पेनका राजा फिलिप छैटौँ पनि रंगशालामा उपस्थित हुने अपेक्षा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसमेत फाइनलमा सहभागी हुने बताइएको छ।

विश्वकपका तीन सहआयोजक अमेरिका, क्यानडा र मेक्सिकोबीच पछिल्लो समय व्यापार, सुरक्षा तथा आप्रवासनका विषयमा मतभेद देखिँदै आएको छ। त्यसैले तीनै देशका शीर्ष नेताको उपस्थितिलाई खेलकुदभन्दा बाहिरको कूटनीतिक सन्देशका रूपमा समेत हेरिएको छ।

ट्रम्पले स्पेनले उत्तर एटलान्टिक सन्धि संगठन—नेटोअन्तर्गतको रक्षा खर्चसम्बन्धी दायित्व पूरा नगरेको आरोप लगाउँदै आलोचना गर्दै आएका छन्। यस्तो अवस्थामा स्पेनी नेतृत्वसँग हुने सम्भावित भेटले पनि चासो बढाएको छ।

रंगशाला क्षेत्रमा कडा सुरक्षा

ट्रम्पसहित विभिन्न देशका शीर्ष नेता उपस्थित हुने भएपछि मेटलाइफ स्टेडियम तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासनले विश्वकपका सबै रंगशाला र आधिकारिक कार्यक्रमस्थललाई ‘नो–ड्रोन जोन’ घोषणा गरेको छ। खेल हुने समयमा अनधिकृत ड्रोन उडाउन प्रतिबन्ध लगाइनुका साथै आवश्यकताअनुसार अस्थायी हवाई प्रतिबन्ध लागू गरिनेछ। एफएए, एफबीआई र स्थानीय सुरक्षा निकायले हवाई गतिविधिको संयुक्त निगरानी गर्नेछन्।

इन्फान्टिनोसँग झन् निकट सम्बन्ध

दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि ट्रम्प र फिफा अध्यक्ष इन्फान्टिनोबीचको सम्बन्ध अझ निकट बनेको देखिन्छ। ट्रम्पले विश्वकपसहित सन् २०२८ को लस एन्जलस ओलम्पिक अमेरिकामा आयोजना हुनुलाई आफ्नो राजनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यसअघि अमेरिकामै भएको फिफा क्लब विश्वकपको पुरस्कार वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरण गरेपछि पनि विजेता टोलीसँगै मञ्चमा लामो समय बसेको घटनाले चर्चा पाएको थियो।

अब विश्वकपको सबैभन्दा ठूलो मञ्चमा ट्रफी हस्तान्तरण गर्न लागेका ट्रम्पको उपस्थितिले फाइनललाई खेलकुदको उपाधि भिडन्तसँगै राजनीति, कूटनीति र फिफामाथिको प्रभावको बहससमेत बनाउने देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.