काठमाण्डौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा नेकपा एमालेसँग सहकार्य गर्ने वातावरण बनाउन पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्देशन दिएका छन्।
श्रीलंका भ्रमणबाट फर्किएपछि प्रचण्डले प्रदेशको सत्ता समीकरणबारे पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका हुन्। उनले विभिन्न प्रदेशका प्रमुख नेताहरूलाई काठमाडौं बोलाएर राजनीतिक अवस्थाबारे जानकारी लिँदै एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन्।
नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले शीर्ष नेताहरूसँगको छलफलपछि पार्टी प्रदेश तहमा एमालेसँग गठबन्धन गर्ने निष्कर्षमा पुगेको बताए।
उनका अनुसार प्रचण्डले सुरुमा लोकतान्त्रिक शक्तिहरू मिलेर सरकार बनाउने प्रस्ताव राखिएको भए पनि नेपाली कांग्रेस तीनदलीय सरकारमा सहभागी हुन तयार नभएको बताएका थिए। प्रदेशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्न नहुने भएकाले राजनीतिक निकासका लागि एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आएको प्रचण्डको भनाइ थियो।
“प्रदेशलाई मध्यावधिमा लैजान नहुने भएकाले निकासका लागि एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था आएको संयोजक प्रचण्डले बताउनुभएको छ,” बरालले भने।
एमाले र नेकपाबीच गठबन्धन गर्ने सम्भावना बलियो बने पनि कुन प्रदेशमा कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको उनले बताए।
यसअघि नेकपा र एमालेले कांग्रेससमेत सहभागी हुने तीनदलीय गठबन्धनको प्रस्ताव गरेका थिए। तर कांग्रेसले प्रदेशलाई प्रतिपक्षविहीन बनाउन नहुने भन्दै सत्ताबाहिर बस्न तयार रहेको धारणा राखेको थियो।
पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको दबाब र कम्युनिष्ट शक्तिबीच सहकार्य गर्ने उद्देश्यका कारण नेकपा र एमाले गठबन्धन नजिक पुगेको स्रोतको दाबी छ।
सुदूरपश्चिम र कोशी प्रदेशमा बजेटसहितका विषयमा एमाले र कांग्रेसबीच विवाद बढेपछि विद्यमान सत्ता समीकरणमा दरार देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सहकार्यका लागि संवाद अघि बढेको चर्चापछि कांग्रेस नेतृत्वसमेत सशंकित बनेको बताइएको छ।

