काठडमाण्डौ । बैंकको ऋण चुक्ता नगरेपछि पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिसँग सम्बन्धित दुई कम्पनीको धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको छ।
प्रभु बैंकले नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिको नाममा रहेको चल तथा अचल सम्पत्ति बिक्री गर्न सातदिने शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
बैंकले ऋण भुक्तानीका लागि पटक–पटक मौखिक तथा लिखित ताकेता गर्नुका साथै यसअघि ३५ दिने र १५ दिने सार्वजनिक सूचनासमेत जारी गरेको जनाएको छ। ऋणी तथा जमानतकर्ताले कर्जा नियमित गर्न चासो नदेखाएपछि लिलामी प्रक्रिया अघि बढाइएको बैंकको सूचनामा उल्लेख छ।
नर्थ फेस होटलका सञ्चालक तथा जमानतकर्ता रुप ज्योति हुन्। कम्पनीको धितोमा रहेको काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित एक दर्जनभन्दा बढी कित्ताका जग्गा र ती जग्गामा बनेका संरचना हालकै अवस्थामा लिलाम गरिनेछ।
नेपाल जनरल मार्केटिङ प्रालिको ऋणमा रुप ज्योतिसहित उनका छोरा अभिक ज्योति र छोरी सुरुची ज्योति जमानतकर्ता छन्। उक्त कम्पनी यसअघि नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता थियो।
कम्पनीको धितोमा ललितपुर महानगरपालिका–६ को घरजग्गा, पर्साको चोर्नीस्थित जग्गा, काठमाडौंको डिल्लीबजारका विभिन्न जग्गा तथा भवन र कलंकीको घरजग्गा रहेका छन्। कम्पनीको मौज्दात तथा चालु सम्पत्तिमाथिको हाइपोथिकेशन सुरक्षणसमेत लिलामीमा समावेश गरिएको छ।
इच्छुक बोलपत्रदाताले साउन १४ गतेसम्म बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। प्राप्त बोलपत्र साउन १५ गते दिउँसो १ बजे सरोकारवालाको उपस्थितिमा खोलिने बैंकले जनाएको छ।
लिलामीबाट समेत सम्पूर्ण साँवा, ब्याज र हर्जाना असुल नभए ऋणी तथा जमानतकर्ताको अन्य व्यक्तिगत सम्पत्तिबाट बाँकी रकम असुल गरिने बैंकले चेतावनी दिएको छ।
सम्पत्ति खरिद गर्दा लाग्ने सरकारी राजस्व, लाभकर, नामसारी तथा अन्य दस्तुर बोलपत्रदाताले नै बेहोर्नुपर्नेछ।

