काठमाण्डौ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको भए पनि करिब एक तिहाइ खाता निष्क्रिय अवस्थामा रहेको देखिएको छ। पूँजी बजारमा दर्ता भएका खाताको संख्या उच्च देखिए पनि नियमित कारोबार गर्ने लगानीकर्ताको संख्या तुलनात्मक रूपमा कम रहेको छ।
सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन्। तर, सक्रिय मेरो सेयर खाताको संख्या भने ५१ लाख ४८ हजार ८९४ मात्रै छ। यस आधारमा करिब २९ लाख डिम्याट खाता निष्क्रिय रहेको देखिन्छ।
डिम्याट खाताको कुल संख्या बढी देखिनुको अर्को कारण एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने व्यवस्था पनि हो। यसले दोहोरिएका तथा तेहरिएका खाताको संख्या उल्लेख्य बनाएको छ।
यस्तै, हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता सेयर मात्रै डिम्याट भएको छ। जबकि नेप्सेमा सूचीकृत कुल सेयर संख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ।
यसअनुसार अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता सेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ।

