काठमाण्डौ । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा व्यापक फेरबदल गरेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवे र कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई जिम्मेवारीबाट फिर्ता बोलाएको हो।
घटनामा एक जनाको मृत्यु र दुई दर्जनभन्दा बढी घाइते भएपछि शान्ति–सुरक्षा व्यवस्थापनमा कमजोरी भएको आशंकाबीच गृह मन्त्रालयले प्रशासन र सुरक्षा नेतृत्व एकैपटक परिवर्तन गरेको हो।
सुनसरीमा नयाँ सीडीओ
प्रमुख जिल्ला अधिकारी घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ।
तनावपूर्ण अवस्थामा नयाँ प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको सुरक्षा समन्वय, कर्फ्यु व्यवस्थापन, समुदायबीच संवाद तथा शान्ति पुनर्स्थापनाको जिम्मेवारी दिइएको छ।
कोशीका डीआईजी पनि काठमाडौं तानिए
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।
उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
प्रदेश प्रहरी नेतृत्वसमेत परिवर्तन गरिनुलाई सरकारले सुनसरी घटनालाई स्थानीय विवादका रूपमा मात्र नभई समग्र प्रदेशको सुरक्षा व्यवस्थापनसँग जोडेर हेरेको संकेतका रूपमा लिइएको छ।
सुनसरीका एसपी विमानस्थल सरुवा
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ।
उनको स्थानमा हाल सोही विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी प्रहरी प्रमुख बनाएर पठाउने निर्णय गरिएको छ।
घटनास्थलमा प्रहरी परिचालन, भिड नियन्त्रण र गोली चलाइएको परिस्थितिबारे प्रश्न उठिरहेका बेला जिल्ला प्रहरी प्रमुखको सरुवा भएको हो।
सशस्त्र प्रहरीको नेतृत्व पनि फेरियो
कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरी बलका डीएसपी नन्दकिशोर महतोलाई पनि जिम्मेवारीबाट फिर्ता बोलाइएको छ।
उनको स्थानमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ।
एकैपटक प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय तथा प्रदेशस्तरीय अधिकारी परिवर्तन गरिनुले सरकारले घटनापछि सुरक्षा संयन्त्रको कमान्ड नयाँ टोलीलाई सुम्पिएको देखिएको छ।
एक जनाको मृत्यु, २४ जना घाइते
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो।
झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।
घटनापछि देवानगञ्ज र हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनासमेत परिचालन गरिएको थियो।
सात दिनभित्र छानबिन प्रतिवेदन
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।
समितिलाई विवादको कारण, सुरक्षा परिचालनको अवस्था, गोली चलाउनुपर्ने परिस्थिति तथा प्रशासनिक र सुरक्षा निकायबाट भएको सम्भावित कमजोरीबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
छानबिन सुरु नहुँदै सुरक्षा नेतृत्व फेरबदल गरिनुलाई तत्काल परिस्थिति नियन्त्रण गर्ने प्रशासनिक कदमका रूपमा हेरिए पनि घटनामा कसको कमजोरी थियो भन्ने अन्तिम निष्कर्ष समितिको प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ।

