काठमाण्डौ । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मी प्रसाद प्रसार्ई तथा डा. निरन्जन आचार्यको समेत सहभागिता रहेको थियो ।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक दन्त उपचार सेवा प्रदान गर्दै आएको छ ।

