काठमाण्डौ । जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वन्यजन्तुसम्बन्धी कसुरमा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय तोकिएका चितवन राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आईतसिंह लामालाई पक्राउ गरिएको हो।
लामालाई २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो। उनी एकसिंगे गैंडा मारेको मुद्दामा सजाय भोगिरहेका कैदी रहेको प्रहरीले जनाएको छ।
खोजतलासका क्रममा साउन १७ गते बिहान करिब ३ बजेर १५ मिनेटमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले लामालाई आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

