काठमाण्डौ । नबिल बैंक लिमिटेडले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ।
सोमबार आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा हबको उद्घाटन गरे। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको समेत उपस्थिति थियो।
विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी, उनीहरूका अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालालाई लक्षित गरी हब स्थापना गरिएको बैंकले जनाएको छ। हबबाट शैक्षिक कर्जा, विदेशी मुद्रा, वित्तीय योजना, बैंकिङ मार्गदर्शन तथा परामर्शलगायतका सेवा एकीकृत रूपमा उपलब्ध हुनेछन्।
बैंकका अध्यक्ष चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन तथा बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब सञ्चालनमा ल्याइएको बताए।
‘शिक्षामा गरिने लगानी एक व्यक्तिमा मात्रै नभई समग्र परिवार, समाज र राष्ट्रको भविष्य निर्माणका लागि हो,’ उनले भने, ‘मुलुकको शिक्षालाई थप सुदृढ बनाउनुका साथै भावी पुस्तालाई सशक्त बनाउने उद्देश्यले हब स्थापना गरिएको हो।’
यस पहललाई देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले बैंकका सबै शाखामा कम्तीमा एजुकेशन हबको एउटा काउन्टर राख्ने तयारी भइरहेको जानकारी दिए।
नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टले एजुकेशन हबको सुरुवातले शिक्षा क्षेत्रमा जनशक्ति विकास गर्ने नेपाल–अष्ट्रेलिया सम्बन्धको मूल मर्मलाई प्रतिबिम्बित गरेको बताए।
‘भरपर्दो र पारदर्शी प्रणालीले समग्र शैक्षिक क्षेत्रमा विश्वासको वातावरण सिर्जना गर्छ। यसबाट विद्यार्थी, परिवार, शैक्षिक संस्था र वित्तीय सेवा प्रदायक सबै लाभान्वित हुन्छन्,’ उनले भने।
विद्यार्थी तथा अभिभावकका लागि एकद्वार सहयोग केन्द्र स्थापना गर्ने बैंकको अवधारणा व्यावहारिक र समयसापेक्ष रहेको उनले बताए। विद्यार्थी छनोट तथा प्रमाणीकरण प्रक्रिया बलियो बनाउन बैंकले गरेको प्रयासको पनि उनले प्रशंसा गरे।
बैंकका सञ्चालक अनन्त पौड्यालले विद्यार्थी र अभिभावकको बदलिँदो आवश्यकता सम्बोधन गर्न हब स्थापना गरिएको बताए। उनका अनुसार हब शैक्षिक कर्जा प्रवाहमा मात्र सीमित नभई विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा, वित्तीय परामर्श तथा विशेष सहजीकरण प्रदान गर्नेछ।
‘ग्राहक केन्द्रित नवप्रवर्तन र अर्थपूर्ण वित्तीय समाधानमार्फत दीर्घकालीन मूल्य सिर्जना गर्ने बैंकको प्रतिबद्धतामा यो अर्को महत्त्वपूर्ण कदम हो,’ पौड्यालले भने।
परम्परागत बैंकिङ सेवाभन्दा फरक रूपमा सञ्चालन हुने हबमा शैक्षिक बैंकिङसम्बन्धी विशेषज्ञ टोली रहनेछ। उक्त टोलीले ग्राहकलाई छिटो, सहज र विशेषीकृत सेवा उपलब्ध गराउने बैंकको भनाइ छ।
बैंकको शैक्षिक कर्जाको प्रमुख विशेषतामध्ये विद्यार्थीको अध्ययन अवधिभर उपलब्ध हुने मोरेटोरियम सुविधा पनि हो। यसले अध्ययन अवधिभर नियमित कर्जा किस्ता तिर्नुपर्ने दबाब कम गरी विद्यार्थीलाई अध्ययन, अनुसन्धान, सीप विकास र भावी करियर निर्माणमा केन्द्रित हुन सहयोग पुग्ने बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको विशेषीकृत सेवा पहिलोपटक सुरु गरिएको दाबी गरे।
‘अन्तर्राष्ट्रिय शिक्षाप्रति आकर्षण बढेसँगै विद्यार्थीको आवश्यकता वित्तीय सहायतामा मात्र सीमित छैन,’ उनले भने, ‘यस हबले शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना र आवश्यक बैंकिङ मार्गदर्शनलाई एकीकृत रूपमा उपलब्ध गराउनेछ।’
उनका अनुसार विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरूका अभिभावकका लागि हबले ‘वान स्टप सोलुसन’ अर्थात् एकै ठाउँबाट आवश्यक सेवा तथा समाधान उपलब्ध गराउने केन्द्रका रूपमा काम गर्नेछ।
विदेश अध्ययनको प्रारम्भिक योजना, भर्ना प्रक्रिया, कर्जा व्यवस्थापन र विदेशी मुद्रा सेवादेखि अध्ययन सम्पन्न भएपछि गर्नुपर्ने कर्जा भुक्तानी व्यवस्थापनसम्मका बैंकिङ सहायता हबबाट प्रदान गरिनेछ।
बैंकले एजुकेशन हब देशव्यापी शाखा सञ्जालको विकल्प नभई शाखाहरूलाई थप सशक्त र प्रभावकारी बनाउने विशेषीकृत केन्द्र भएको स्पष्ट पारेको छ। यसबाट शिक्षा क्षेत्रसँग सम्बन्धित ग्राहकले विशेषज्ञ सेवा, छिटो निर्णय प्रक्रिया र थप सहज बैंकिङ अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ।
नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक हो। बैंकले देशभरका २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित ‘बैंकिङ एन्ड बियन्ड’ अवधारणालाई अगाडि बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।