काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ र पशुपति सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् भने पशुपति सहकारीका सात जना बचतकर्ताको बचत फिर्ता गरिएको छ।
सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुल भएको रकम नै पीडित बचतकर्तालाई प्राथमिकताका आधारमा फिर्ता गर्ने नीति लिएको जनाएको छ। समितिका अनुसार सहकारीबाट असुल भएको रकमबाट नै बचत फिर्ताको प्रक्रिया अघि बढाइएको हो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चालु आर्थिक वर्षको साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरेको जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखी रकम फिर्ता गर्ने काम भइरहेको छ। बाँकी बचतकर्ताको हकमा पनि ऋण असुली तथा उपलब्ध स्रोतका आधारमा क्रमशः बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।