काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७८ प्रतिशत अर्थात २१.१५ अंकले घटेर २ हजार ६६.१८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४६७.९६ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३४३ वटा स्क्रिप्टको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७ करोड बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ५७ करोड २० लाख बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार खोमनाथ प्याकुरेल भन्छन्, ‘बजारमा अहिले सेन्टिमेन्ट लुज भएको अवस्था छ । पोजेटिभ माहोल नबनेका कारण सेयर खेलाडीहरुका दुईचारवटा स्टक बाहेक बढ्न सकेका छैनन् । फेरी विराटनगरमा एकजना व्यवसायीलाई अनुसन्धानको लागि पक्राउ गरेको समाचार आएको छ, यस्तै विषयले लगानीकर्ताको मनोबलमा धक्का पुग्छ । यसअघि बीमा क्षेत्रका संचालक लगायत उच्च व्यवस्थापकलाई अनुसन्धानको दायरामा ल्याएको थियो यसले बीमा कम्पनीहरु बजारमा लगानी गर्न क्रसित छन् ।’
उनले थपे, ‘बजारमा ‘बिग मनि’को अभाव देखिएको छ । हिजोआज धितोपत्र बोर्डले एनआरएनलाई बजारमा भित्र्याउने भनेपनि यसले पूँजीबजारमा खासै प्रभाव देखिदैन । यदि एनआरएन र सञ्चय कोष बजारमा प्रवेश भएतापनि प्रोमोटर सेयरतिर नै केन्द्रीत हुनेछन् । सरकारले नीतिगत सुधार नगरेसम्म बजार सस्टेन हुने सम्भावना देखिदैन । जसरी आईपीओको बाढी आएर प्रोमोटरले तीन वर्षमै सेयर बेचेर उम्किने व्यवस्था छ, यसलाई संशोधन नगर्दा बजार माथि उक्लिने सम्भावना छैन । यदि केहीगरी बजारको लागि पोजेटिभ सेन्टिमेन्ट आएपनि २–३ सय अंकले मात्रै बजार बढ्ला तर त्यो भन्दा माथि जाने सम्भावना छैन । बजार तत्काल उठ्ने सम्भावना कम छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.३१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८०, प्रतिशत, विकास बैंक समूह ०.५०, फाइनान्स ०.१४, होटल ०.६१, हाईड्रो ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, लघुवित्त ०.७२, म्युचुअल फण्ड ०.४४, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज खानीखोला हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४० करोड ६६ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिद्धार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाईड्रोपावरको १६ करोड ५७ लाख, सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख र रिडी पावरको १३ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै खानीखोला हाईड्रोको सेयरमूल्य १०.०७ प्रतिशत, जोशी हाईड्रोपावरको ५.२६ र छ्याङदी हाईड्रोपावरको सेयरमूल्य ४.४४ प्रतिशतले बढ्यो ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ११.६७ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।