काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४६७.३६ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको १ करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड ९८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ७ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले बजारको गति राम्रो छैन । मुख्यगरी सरकारको गतिविधिमा लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन्, जसकारण लगानीकर्ताको मनोबल बढ्न सकिरहेको छैन । बजारमा अहिले ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ता सक्रिय छैनन् । साना लगानीकर्ताले मात्रै बजार जसोतसो चलाईरहेका छन् र स–सानो कारोबारले बजार दिगो हुँदैन । अहिलेको सिजन लाभांशको सिजन हो ।’
उनले थपे, ‘यतिबेला फन्डामेन्टल रुपमा बलिया कम्पनी चल्नुपर्ने हो तर दीर्घकालिन लगानीकर्ता सक्रिय नहुँदा राम्रा र बलिया कम्पनी ओझेलमा परेका छन् । जबसम्म फन्डामेन्टल बलिया कम्पनी चल्दैनन् तबसम्म बजार माथि जाने सम्भावना रहँदैन । बजारमा ट्रेडर हाबी छन्, जेनजी स्टक बाहेकका अन्य कम्पनीहरु चल्न सकिरहेका छैनन् । साथै अहिले बैंक वित्तीय संस्थाहरु पनि राम्रो लाभांश बाँड्ने अवस्थामा छैनन् । अब बजार केहीगरी बढिहाले पनि २८ सय पुग्ला फेरी बिक्री दबाबले घटिहाल्ने देखिन्छ । मार्केट यसरी नै स्टेबल रह्यो भने बजार फेरी साइडवेजमा जान सक्ने सम्भावना रहन्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात १.६० प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०.२२ प्रतिशत, हाईड्रो १.४५ र अन्य ०.२६ प्रतिशतले बढ्यो ।
विकास बैंक समूह सर्वाधिक अर्थात ०.५० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४२, प्रतिशत, फाइनान्स ०.३४, लगानी ०.०६, जीवन बीमा ०.०७, लघुवित्त ०.३२, म्युचुअल फण्ड ०.०६ र निर्जीवन बीमा ०.१० प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज सोलु हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५८ करोड १० लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावरको ३४ करोड ८४ लाख, खानीखोला हाईड्रोपावरको २७ करोड ७७ लाख, एभरेष्ट कलरको १७ करोड ९२ लाख र सेन्ट्रल फाइनान्सको १६ करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सोलु हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै शिखर पावर डेभलपमेन्टको सेयरमूल्य ५.९१ प्रतिशत, रिडी पावर कम्पनीको ५.७९, बुद्धभूमि नेपाल हाईड्रोपावरको सेयरमूल्य ४.६८ र सिनर्जी पावरको सेयरमूल्य ४.१८ प्रतिशतले बढ्यो ।
यो दिन एभरेष्ट कलर लिमिटेडको सेयरमूल्य सर्वाधिक अर्थात ९.०३ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।