काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।
संघीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटवार्तामा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै उक्त समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान तथा संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए । उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धि गर्न संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलिया सरकारले लामो समयदेखि पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा पु¥याएको योगदानप्रति आभार व्यक्त गरे ।
भेटमा जनस्तरीय सम्बन्धलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य रहेको बताए । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।
सभामुख अर्यालले महामहिम राजदूतमार्फत अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख माननीय मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरे ।
भेटवार्तामा महामहिम राजदूत साइमन अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य तथा जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले नेपाल र अष्ट्रेलियाबीच शिक्षा, मानव संसाधन विकास, संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।