काठमाण्डौ । आम्दानी घट्दा र खर्च बढ्दा शिव श्री हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा गएको हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड बढी नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.४४ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक तथा अन्य खर्च ५ करोड ८५ लाखबाट बढेर ९ करोड ७४ लाख, रोयल्टी खर्च १ करोड ११ लाखबाट बढेर १ करोड २० लाख र वित्त खर्च पनि १९ करोड ११ लाखबाट बढेर २५ करोड ७७ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको रिजर्भको आकार १ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३९ करोड ५२ लाख र कुल चालु दायित्व ४६ करोड ४४ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.०३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५२.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.३२ गुणा ऋणात्मक कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।