काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजीबजारलाई थप आधुनिक, पारदर्शी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ ।
मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसहितको सहभागितामा गठित प्राथमिक बजार सुधार सहजीकरण कार्यदलले तयार गरेको उक्त नीति बोर्डले सार्वजनिक गरेको हो ।
नीतिले सार्वजनिक निष्कासन प्रक्रियालाई डिजिटल, पारदर्शी र समयबद्ध बनाउने तथा वैज्ञानिक र बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने लक्ष्य लिएको छ ।
साथै, योग्य संस्थागत तथा एङ्कर लगानीकर्ताको सहभागिता बढाउने र सार्वजनिक निष्कासनबाट प्राप्त पूँजीको प्रभावकारी उपयोग तथा अनुगमन गर्ने व्यवस्था विकास गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, साना तथा मझौला उद्यम (एसएमई), प्रविधिमुखी तथा नवप्रवर्तनमा आधारित व्यवसायलाई पूँजी बजारमा पहुँच विस्तार गर्ने नीति लिइएको छ । उद्योग, पूर्वाधार, हरित तथा दिगो विकास परियोजनाका लागि दीर्घकालीन पूँजी जुटाउन सहज वातावरण निर्माण गर्ने बोर्डको योजना छ ।
साथै नीतिले लगानीकर्ता संरक्षण, बजारप्रतिको विश्वास अभिवृद्धि, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सक्षम नियामकीय वातावरण तथा ईएसजी र दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमशः संस्थागत गर्ने लक्ष्यसमेत राखेको छ ।
बोर्डका अनुसार नीति कार्यान्वयनसँगै नेपालको प्राथमिक पूँजी बजारलाई दक्षिण एसियामै प्रतिस्पर्धी, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउँदै राष्ट्रिय आर्थिक विकासका लागि दीर्घकालीन पूँजी परिचालनको प्रमुख आधारका रूपमा विकास गर्न सहयोग पुग्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।