भारतको झारखण्ड राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्किरहेका नेपाली तीर्थयात्री सवार बस झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिक दुर्घटनामा परेको हो।
बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको बताइएको छ। दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जना १२ वर्षीय बालक रहेको जनाइएको छ। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा करिब ५० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको विस्तृत कारणबारे भारतीय सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।