काठमाण्डौ । पाँचतारे होटलमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको भन्ने टिप्पणीप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा हालै पाँचतारे याडिसन होटलमा गरिएको अनुगमनका क्रममा ग्यासको मौज्दात बढी रहेको भनी गरिएको टिप्पणीप्रति चेम्बरले आपत्ति जनाएको हो।
चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गरिनु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको छ।
पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डरसम्म खपत हुने भन्दै चेम्बरले करिब २०० सिलिन्डर मौज्दात रहनु अस्वाभाविक नभएको स्पष्ट पारेको छ। व्यावसायिक सञ्चालनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नहुने चेम्बरको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध व्यावसायिक गतिविधिलाई हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने जनाएको छ।
चेम्बरले होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योग तथा व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित सरकारी निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग आवश्यक संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
“व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो,” चेम्बरले जनाएको छ।
तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति तथा सरोकारवालाबीचको संवादबाट मात्र पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने चेम्बरको धारणा छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।