काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफ्नो राजनीतिक आवश्यकता र स्वार्थअनुसार व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले बीपीको समग्र राजनीतिक जीवन, विचार र मूल्यलाई बुझ्नेभन्दा पनि आवश्यक परेको सन्दर्भमा मात्रै उनको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको टिप्पणी गरे।
विशेषगरी ‘राष्ट्रिय मेलमिलाप’को प्रसङ्गलाई लिएर पछिल्लो समय बीपीको नाम बारम्बार प्रयोग हुन थालेको भन्दै उनले नेताहरूले आफ्नो राजनीतिक निर्णयलाई वैधता दिन बीपीको सहारा खोज्ने गरेको आरोप लगाए।
थापाले भने, ‘हाम्रो परम्परा आफूलाई जहाँ चाहिन्छ, बीपी कोइरालालाई त्यहीँ प्रयोग गर्ने रह्यो। अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्ग व्यापक रूपमा आइरहेको छ। नेताहरूले फेरि रातारात बीपीलाई सम्झिनुभएको छ।’
आफ्नो राजनीतिक निर्णय आफैं गर्ने हिम्मत नहुँदा बीपीको नाम अघि सार्ने गरिएको उनको भनाइ थियो। उनले बीपीलाई सन्दर्भविहीन रूपमा उद्धृत गर्ने र अपव्याख्या गर्ने प्रवृत्तिले बीपीको वास्तविक विचार र योगदानलाई नै कमजोर बनाउने बताए।
‘काठमाण्डौमा बसेर कुराकानी गर्दा बीपीले यसो भन्नुभएको थियो भनिन्छ,’ थापाले भने, ‘आज बीपीलाई मिसकोट र अपव्याख्या गरिँदा बीपीको आह्वानमा आन्दोलनमा उत्रिएका पुराना अभियन्ताहरू अगाडि आएर वास्तविकता बुझाउनुपर्छ।’
उनले बीपी कोइराला र गणेशमान सिंहजस्ता नेताहरूलाई कुनै परिवार, समूह वा सीमित राजनीतिक घेराभित्र मात्र राख्न नहुने पनि बताए।
थापाका अनुसार बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित हुँदै गएको थियो। समय र परिस्थितिअनुसार उनका केही धारणा विकसित भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको मूल प्रतिबद्धता भने कहिल्यै परिवर्तन भएको थिएन।
बीपीले उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगका विषयमा फरक–फरक समयमा राखेका विचारलाई अहिलेको विकास बहससँग समेत जोडेर अध्ययन गर्न सकिने थापाको भनाइ थियो।
उनले बीपीको विचारलाई केवल ऐतिहासिक उद्धरणका रूपमा प्रयोग गर्नेभन्दा पनि वर्तमान राजनीतिक, आर्थिक र प्रविधिगत सन्दर्भमा गम्भीर अध्ययन र बहसको विषय बनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।