काठमाण्डौ । नेपालकै ठूलो खुद्रा व्यापारिक चेन भाटभटेनी सुपरस्टोरले काठमाण्डौ उपत्यकाका तीन वटा शाखालाई क्रमशः चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले पहिलो चरणमा भक्तपुरको राधेराधेस्थित सुपरस्टोरलाई सोमबारदेखि २४ घण्टा सञ्चालनमा ल्याउन लागेको हो।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार उपत्यकाको यातायात चाप, यात्रुको आवागमन तथा ग्राहकको सुविधालाई ध्यानमा राख्दै भक्तपुर शाखाबाट २४ घण्टे सेवा सुरु गर्न लागिएको हो।
उनका अनुसार भक्तपुर शाखा सञ्चालनमा आएको करिब एक सातापछि ललितपुरको कृष्णगल्लीस्थित शाखा र त्यसपछि काठमाडौंको टंगालस्थित शाखा पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ।
चौबिसै घण्टा सञ्चालनमा आउने तीनवटै सुपरस्टोरको पहिलो तला मात्र खुला रहनेछ। उक्त तलामा दैनिक उपभोग्य तथा ग्रोसरी सामग्री उपलब्ध हुनेछन्। रातिको समयमा सीमित क्षेत्र मात्र सञ्चालन हुने भएकाले कर्मचारीको संख्या पनि तुलनात्मक रूपमा कम रहने कम्पनीले जनाएको छ।
रातको समयमा ग्राहक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले आफ्नै सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जनाएको छ। साथै, रातभर सञ्चालन हुने विषयमा स्थानीय प्रहरी प्रशासनलाई समेत जानकारी गराइएको पौडेलले बताए।
उपत्यकाका तीनवटै शाखा चौबिसै घण्टा सञ्चालनमा आएपछि पोखरास्थित एक शाखालाई पनि २४ घण्टा सञ्चालन गर्ने योजना कम्पनीले बनाएको छ।
व्यवसायी मिनबहादुर गुरुङले करिब ४२ वर्षअघि काठमाण्डौको टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोर अहिले देशभर २७ वटा शाखामा विस्तार भएको छ। कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको जनाएको छ भने सबै शाखामा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश शाखामा आगजनी, लुटपाट तथा तोडफोड हुँदा कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।