काठमाण्डौ । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आइतबार अपराह्न काठमाण्डौ आइपुगेका छन्।
सेठ एयर इन्डियाको विमानमार्फत अपराह्न ४ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल भ्रमणका क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि उनको भेटवार्ता हुनेछ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय सुरक्षा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भारतीय प्रधानसेनापति सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने पुरानो परम्परा रहँदै आएको छ। सेठको भ्रमणलाई दुई देशबीचको सैन्य सम्बन्ध र आपसी विश्वासलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।