काठमाण्डौ । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरीले अनुसन्धान पूरा नभएको जनाउँदै हिरासतको म्याद थप गर्न सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त अवधि सकिएपछि प्रहरीले पुनः म्याद थपको माग गरेको हो।
श्रेष्ठलाई प्रहरीले साउन २७ गते पक्राउ गरेको थियो। उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले उनको थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ।
यसअघि साउन २९ गते सर्वोच्च अदालतले श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा श्रेष्ठको रिटमाथि सुनुवाइ हुने तय भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।