काठमाण्डौ । उज्यालो नेपाल पार्टीले विद्युत्मा सरकारले लगाएको कर खारेज गर्नुपर्ने मागसहित हस्ताक्षर अभियान शुरु गरेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउनुपर्ने र विद्युत् खपतलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने माग गर्दै पार्टीले काठमाण्डौको माइतीघरबाट अभियान सुरु गरेको हो।
अभियानको सुरुवात गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालमा विद्युत् उत्पादन बढिरहेका बेला विद्युत् तथा विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले कर लगाएर निरुत्साहित गरेको आरोप लगाए। उनले विद्युत् र इन्डक्सनको प्रयोग बढाउन विद्युत्मा लगाइएको कर तत्काल खारेज गर्नुपर्ने बताए।
घिसिङले इन्डक्सन चुलो तथा विद्युतीय सवारीसाधनका चार्जिङ स्टेसनका कारण ट्रान्सफर्मर वा विद्युत् लाइनमा समस्या आउने भन्दै सम्बन्धित निकायबाट भ्रम फैलाइएको दाबीसमेत गरे। उनका अनुसार विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार विस्तार गर्नुको सट्टा विद्युतीय उपकरणको प्रयोगलाई हतोत्साहित गर्ने गतिविधि भइरहेको छ।
उनले विद्युतीय सवारीसाधनको प्रयोग बढाएर पेट्रोलियम पदार्थको आयात घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा सरकारले उल्टो नीति लिएको आरोप लगाए। विद्युतीय सवारीसाधनमा ७० देखि ८० प्रतिशतसम्म भन्सार तथा कर बढाएर पेट्रोल, डिजेल र ग्यासको आयातलाई पुनः बढावा दिने अवस्था सिर्जना गरिएको उनको भनाइ छ।
अध्यक्ष घिसिङले सरकारको कर नीतिले आम नागरिक तथा साना श्रमिकसमेत प्रभावित भएको बताए। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएकोमा सरकारलाई धन्यवाद दिँदै उनले राइड सेयरिङमार्फत तथा मासिक २०–३० हजार रुपैयाँ आम्दानी गर्ने श्रमिकमाथि समेत करको भार बढाइएको भन्दै असन्तुष्टि जनाए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।