सोमबार, भाद्र १,२०८३ 06:23:57
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 06:23:57
Bizshala
Global IME Bank Limited

ब्रोकर हाउसमा देखियो लगानीकर्ताको बदलिँदो मनोविज्ञान, माइक्रोफाइनान्समा आशा, रिलायन्समा संशय

ब्रोकर हाउसमा देखियो लगानीकर्ताको बदलिँदो मनोविज्ञान, माइक्रोफाइनान्समा आशा, रिलायन्समा संशय
New Office

काठमाण्डौ । पछिल्लोसमय सेयरबजारमा ठूलो अंकको उतारचढाव देखिदैन । कारोबार रकम समेत खुम्चिँदै गएको अवस्था छ । अहिलेको सेयरबजार न त स्पष्ट ‘बुलिस’ अवस्थामा छ न त ठूलो ‘वियरिस’ नै ।

प्राविधिक विश्लेषकहरुले अहिलेको बजार ‘साइडवेज’ वा ‘भोलाटाइल फेज’ जस्तो देखिएको निष्कर्ष निकालिरहेका छन् । कमजोर मनोबल, कारोबारमा आएको सुस्तता र बजारप्रतिको अनिश्चितताले गर्दा बजारले लय समात्न सकिरहेको छैन ।

बजारमा देखिएको अनिश्चितताले सेयर लगानीकर्ताहरुमा समेत अन्योलता सिर्जना गरेको छ । सेयरबजारको लागि साउन महिना ‘सिजन’ मानिएपनि त्यहि समयमै बजार बढ्न नसक्दा अब बजार घट्न सक्ने लगानीकर्ताहरुको अनुमान छ ।

केही समयअघि बजार बढ्ने क्रमसँगै ब्रोकर हाउसमा देखिएको चहलपहलले लगानीकर्ताको मनोबलमा सुधार आएको संकेत गरेको थियो । तर, पछिल्ला दिनमा बजारको गति कमजोर भएसँगै ब्रोकर हाउसमा लगानीकर्ताको सहभागिता पनि फेरि घट्न थालेको छ ।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार काठमाण्डौको अनामनगर र बानेश्वर क्षेत्रका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो ।

बजार बढ्दा लगानीकर्ताको सहभागिता बढ्ने र बजार सुस्ताउँदा सहभागिता घट्ने प्रवृत्तिले पनि अहिले लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा बलियो भइनसकेको देखाएको छ ।

Bizshala
CG Motors

रिलायन्स स्पिनिङको लकइन खुलेको सेयरमा लगानीकर्ताको नजर

सर्वप्रथम हामी बानेश्वरस्थित नागरिक स्टक डिलर (ब्रोकर नं.मा ६०)मा पुग्यौं । सुरुवातमा नेप्से परिसूचक झिनो अंकले बढेपनि केही समयमा सूचक फेरि घटिसकेको थियो । ब्रोकर हाउमा लगानीकर्ताको सहभागिता सामान्य नै थियो ।

विस्तारै–विस्तारै लगानीकर्ताको सहभागिता बाक्लिदै थियो । लगानीकर्ताहरु आज अन्तिमसम्ममा बजार बढ्ने आशा ब्यक्त गर्दै थिए ।

एकछिनपछि एकजना लगानीकर्ता आएर अर्का लगानीकर्तालाई भने, ‘नागरिक स्टक ब्रोकरमा पनि अब त लगानीकर्ताको खडेरी लागेछ, सँधै यो सिजनमा कस्तो भिडभाड हुन्थ्यो, अहिले त लगानीकर्ता छैनन्, सिट मात्रै ।’

उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले थपे, ‘अब बजार बढेको भएपो लगानीकर्ता ब्रोकरमा आउछन्, बजार माथि जाने छाँटकाँट छैन अनि किन आउथे त । मार्केट बुल भइदिएको भए यहाँ बस्ने ठाउँ पनि हुन्थेन ।’

त्यसपछि पछि आएका लगानीकर्ताले फेरी भने, ‘त्यहि त म ३४, ४५ ब्रोकरमा पनि छिरेर आएको त्यता पनि लगानीकर्ता खासै छैनन् । अनि यता आए ।’

लगानीकर्ताहरु आ–आफ्नै स्क्रिप्ट हेर्न व्यस्त थिए । धेरैको नजर भने आजदेखि लकइन खुलेको ‘रिलायन्स स्पिनिङ मिल्स’ को सेयरतिरै थियो । ‘आजदेखि ७ लाख भन्दा बढी कित्ताको लकइन खुलेको होइन तर सेयर घट्नुपर्ने झन बढीरहेको छ त’ एक लगानीकर्ताले भने, ‘लकइन खुलेपछि सेयर बेचेको भए त मूल्य घट्नुपर्ने हो फेरी किन्नलाई पनि अर्डरमा राख्दा पाइएको छैन, यसमा पनि खेलाडीहरु सक्रिय रहेछन् ।’

ब्रोकर हाउसमा लगानीकर्ताको अन्योल ः ‘न बजार बढ्छ, न घट्छ, लगानी थप्ने कि झिक्ने ?’

सेयरबजारको उतारचढाव क्रम जारी थियो । उक्त ब्रोकर हाउसमा पनि लगानीकर्ताको संख्या सामान्य नै थियो । लगानीकर्ताहरु एकआपसमा भलाकुसारी गर्दै थिए ।

एकजना लगानीकर्ताले सेयरबजारले लय लिन नसकिरहेकोमा गुनासो पोख्दै थिए । ‘साउन महिनामा त बढ्न सकेन अब झन् सिजन पनि गयो, चाँडपर्व सुरु हुन्छ बजार माथि जाने छाँटकाँट छैन, लगानी पनि उठ्दैन होला’ ती लगानीकर्ताले भने, ‘बजार पनि ठूलो अंकले घटेको पनि छैन, बढेको पनि छैन, यस्तो अवस्थामा त न लगानी थप्न नै सकिन्छ न त झिक्न नै ।’

एकछिनपछि अर्का एकजना लगानीकर्ता फोनमा ब्यस्त देखिए । उनलाई उताबाट विभिन्न स्क्रिप्टहरु किन्न सल्लाह आउँदै थियो । फोनमा बोलेका व्यक्तिले ती लगानीकर्तालाई हाइड्रो र अन्य सेक्टरका कम्पनी छानेर किन्न सुझाव दिदै थिए ।

उनीसँगै बसेका अर्का लगानीकर्ता भने मोबाइल झिकेर ‘च्याट जीपीटी’सँग आजको बजारबारे सोध्न थाले । ‘आज सेयरबजार घट्छ कि बढ्छ कुन कम्पनीमा लगानी गर्दा राम्रो हुन्छ ?’ उनले च्याट जीपीटीसँग सोधे ।

उक्त ब्रोकर हाउसमा पनि रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सेयरको विषयमा चर्चा हुन थाल्यो । ‘रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर बढीरहेको छ, आज किनेका हुन् कि फालेका ?’ एकजना लगानीकर्ताले सोध्दै भने, ‘आजै लकइन खुलेको होइन र फेरी कसरी सेयरभाउ बढ्यो ? बेचेको भए त घट्नुपर्ने किनेको हो भने हामीले किन्न खोज्दा पाइएकै छैन ।’

पछाडी बसेका लगानीकर्ताले भने सेयरबजारमा स–सातो उतारचढावले मार्केट सस्टेन हुन नसकेको गुनासो पोखे ।

माइक्रोफाइनान्समा लगानीकर्ताको नजर, रिलायन्स स्पिनिङको सेयर नपाउँदा गुनासो

अन्तिममा हामी अनामनगरमै रहेको दिपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८)मा पुग्यौं । उक्त ब्रोकरमा भने लगानीकर्ताको सहभागिता बाक्लै देखिन्थ्यो । लगानीकर्ताहरु विभिन्न स्क्रिप्ट हेर्न र एकआपसमा गफिन व्यस्त देखिन्थे ।

अगाडी बसेका महिला र पुरुष लगानीकर्ताको समूहले माइक्रोफाइनान्स सेक्टरमा आँखा लगाउँदै थिए । ‘यसपाली त माइक्रोफाइनान्सको राम्रो रिर्पोट आएको छ, अब यहि सेक्टरकै कम्पनी छानेर किन्नुपर्छ’ एक लगानीकर्ताले भने, ‘माइक्रोफाइनान्सहरुको डिभिडेन्ट क्यापासिटी पनि राम्रो छ, कम्तिमा २५ प्रतिशत लाभांश दिन सक्ने कम्पनी किन्दा राम्रै हुन्छ ।’

एकछिनपछि सोही ब्रोकर हाउसमा पनि रिलायन्स स्पिनिङ्ग मिल्सकै कुरा उठ्यो । लगानीकर्ताहरु आज उक्त कम्पनीको लकइन पिरियड सकिएपनि अर्डर राख्दा सेयर नपाएको गुनासो गरेका थिए ।

‘७ ला कित्ता भन्दा बढी सेयरको लकइन सकिएको होइन र, फेरी मैले आज सुरुमै २५ सयमा अर्डर राख्दा पनि सेयर पाईन’ एकजना महिला लगानीकर्ताले भनिन्, ‘अहिले त बढेर २८ सयमाथि पुगिसक्यो, टर्नओभर पनि देखिएको छ, फेरी सेयर किन्न खोज्दा पाइएकै छैन, खेलाडीहरुकै कमाल त होला नि !’

उनको कुरालाई समर्थन गर्दै अर्की महिला लगानीकर्ताले थपिन्, ‘अब अहिले सेयरबजारमा नयाँ कम्पनीजतिमा खेलाडीहरु सक्रिय छन्, झन् यो लो क्याप कम्पनीमा त विचार गरेर मात्रै लगानी गर्नुपर्छ नत्र फसिन्छ ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.