काठमाण्डौ । सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले दिउँसो १ बजे तथा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले दिउँसो ३ बजे विश्वासको मत लिने कार्यक्रम रहेको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गर्न आग्रह गरेका थिए। सोहीअनुसार प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको हो।
बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढाइनेछ।
गत साउन २९ गते नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सुदूरपश्चिममा दुई राज्यमन्त्री र सात मन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद्को व्यवस्था भए पनि हाल तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन्।
मुख्यमन्त्री भट्टले हाल आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्।
सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सदस्य छन्।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि बुधबार नै प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ।
साउन १२ गते नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले सरकार गठनको २३ दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।
सत्ता साझेदार दुई दलबीच मन्त्रालय बाँडफाँटमा चार–तीनको अनुपातमा सहमति बने पनि महत्वपूर्ण तथा शक्तिशाली मन्त्रालयको जिम्मेवारी कसले लिने भन्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।