काठमाण्डौ । बुधबारको कारोबारका दिन सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ अंकले घटेर २ हजार ६२२.२२ विन्दुमा झरेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४६१ विन्दुमा सीमित बनेको छ ।
आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २९ करोड ८० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब ७ करोड ३५ लाख बढीको सेयर कारोबार भएको थियो ।
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.७६ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.०६ प्रतिशत, हाईड्रो ०.०९, निर्जीवन बीमा ०.१४ र अन्य ०.१२ प्रतिशतले बढ्यो ।
आज होटल समूह सर्वाधिक अर्थात ०.३८ प्रतिशतले घट्यो । यस्तै विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल ०।८४, हाईड्रो ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, लघुवित्त ०.३३ र म्युचुअल फण्ड ०.१५ प्रतिशतले घट्यो ।
आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘बजार बढ्नका लागि आर्थिक सूचकहरु सकारात्मक छन्, तर लगानीकर्ताकै मनोबल उच्च नहुँदा बजारले लय लिन नसकेको अवस्था छ । जबसम्म सरकारले लगानीकर्ताको कन्फिडेन्ट बढाउन पहल गर्दैन तबसम्म बजार बढ्ने सम्भावना देखिदैन । अहिले बजारमा ‘बिग मनि’को अभाव छ ।’
उनले थपे, ‘सरकारले निजी क्षेत्रसँग बसेर छलफल गरी पूँजीबजारलाई सुधारको संकेत दिलाउने निर्णय गर्नुपर्छ । ठूला व्यापारी वा उद्योगीहरु बजारमा नआाएकै कारण बजार सस्टेन हुन नसकेको हो । बजारमा भोल्युम नबढेसम्म नेप्से सूचक पनि माथि जान सक्दैन । सरकारले लगानीको वातावरण सुनिश्चित गराउने खालको नीति बनाएमा मात्रै बजार केही अंकले बढ्ला नत्र तत्कालै माथि जाने सम्भावना देखिदैन ।’
सर्वाधिक कारोबार हुने कम्पनी
आज साहस उर्जाको सर्वाधिक कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५२ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाईड्रोको १६ करोड ८८ लाख, रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ५५ लाख, मनकामना इन्जिनियरिङको १२ करोड २५ लाख र खानीखोला हाईड्रोको ८ करोड ९६ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र र सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै आरबिबि म्युचुअल फण्डको मूल्य ३.०९ र ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चरको मूल्य ३ प्रतिशतले बढ्यो ।
यो दिन मनकामना इन्जिनियरिको सेयरमूल्य सर्वाधिक अर्थात ८.४५ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।