काठमाण्डौ। देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ भने देशभर सामान्यतया बदलीको अवस्था छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा सामान्यतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा पनि हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।
महाशाखाले वर्षा, चट्याङ तथा हुरीबतासको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।