काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार श्रेष्ठको नियुक्ति बदर गर्ने फैसला गरेको हो। सर्वोच्चको आदेशसँगै श्रेष्ठको कार्यकारी अध्यक्षका रूपमा निरन्तरता समाप्त भएको छ।
निगम सञ्चालक समितिका सदस्य उपेन्द्रबहादुर कार्कीले श्रेष्ठको नियुक्ति बदर गर्न माग गर्दै असार ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न परमादेश जारी गर्नसमेत माग गरेका थिए।
तर सर्वोच्चले कार्कीको मागअनुसार श्रेष्ठको नियुक्ति बदर गरे पनि उनलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न परमादेश भने जारी गरेन। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आंशिक रूपमा जारी भएको हो।
श्रेष्ठको नियुक्तिविरुद्धको पछिल्लो विवाद नयाँ भने होइन। यसअघि पनि पर्यटन मन्त्रालयले योग्यता तथा छनोट प्रक्रियामा पहिलो नम्बरमा रहेका कार्कीलाई निगमको सञ्चालक समितिमा नियुक्त नगरेको विषय अदालत पुगेको थियो।
त्यस समयमा मन्त्रालयले कार्कीलाई पन्छाउँदै डा. दीपकप्रसाद बाँस्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गरेको थियो।
उक्त नियुक्तिविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले ती नियुक्ति बदर गर्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो।
अदालतले कार्कीलाई नियुक्त नगर्नुपर्ने स्पष्ट आधार र कारण नदेखिएको अवस्थामा मन्त्रालयले ‘पिक एन्ड चुज’ शैलीमा नियुक्ति गरेको ठहर गरेको थियो।
सर्वोच्चको आदेशपछि पर्यटन मन्त्रालयले कार्की र भीम चन्दलाई सञ्चालक समितिमा नियुक्त गरेको थियो। त्यसपछि निगमको कार्यकारी अध्यक्ष नियुक्तिका क्रममा पुनः श्रेष्ठलाई जिम्मेवारी दिइएपछि कार्की अदालत पुगेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।