काठमाण्डौ । रोयल इन्फिल्डले नेपालको गौरवपूर्ण गोरखा इतिहास, साहस र पहिचानलाई सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
गोरखा समुदायको साहस, दृढता, वफादारी र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको ऐतिहासिक पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ। विशेष ‘गोरखा ग्रीन’ रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको ऐतिहासिक ‘क्रस खुकुरी’को विशेष चिन्ह राखिएको छ।
कम्पनीका अनुसार क्लासिक ३५० को परिचित डिजाइन र चरित्रलाई कायम राख्दै गोरखा एडिसनमा गोरखा विरासत झल्काउने केही विशेष डिजाइन एलिमेन्ट थपिएका छन्। सहज राइडिङ र गियर सिफ्टका लागि यसमा ‘असिस्ट एन्ड स्लिपर क्लच’ समेत उपलब्ध गराइएको छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपालका राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको उल्लेख गर्दै गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको विरासतलाई सम्मान गर्न पाएको बताए।
उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ। “यो संस्करणमार्फत त्यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरेका छौँ,” उनले भने।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले पनि क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए।
उनले गोरखा एडिसनलाई नेपालको इतिहास, साहस र राष्ट्रिय पहिचानसँग जोडिएको विशेष प्रस्तुति भएको उल्लेख गरे। “गोरखा विरासत साहस, दृढता र सम्मानको प्रतीक हो। यही भावनालाई ध्यानमा राखेर तयार गरिएको यो विशेष संस्करणले नेपाली राइडरलाई आकर्षित गर्ने विश्वास लिएका छौँ,” संघाईले भने।
जे–सिरिज इन्जिन, असिस्ट एन्ड स्लिपर क्लच
क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, रेट्रो डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ।
यसमा सहज गियर परिवर्तन तथा राइडिङ अनुभवका लागि असिस्ट एन्ड स्लिपर क्लच समावेश गरिएको कम्पनीले जनाएको छ। गोरखा ग्रीन रङ र क्रस खुकुरीको चिन्हले भने यो संस्करणलाई नियमित क्लासिक ३५० भन्दा फरक पहिचान दिएको छ।
मोटरसाइकलसँगै ‘गोरखा कलेक्सन’ पनि
कम्पनीले मोटरसाइकलसँगै गोरखा इतिहास र विरासतबाट प्रेरित ‘गोरखा कलेक्सन’ पनि सार्वजनिक गरेको छ।
कलेक्सनमा प्रिमियम राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा विभिन्न एक्सेसरिज समावेश छन्।
यी सामग्रीको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ तथा नेपाली हस्तकलाबाट प्रेरित तत्वहरूको प्रयोग गरिएको छ।
कम्पनीका अनुसार गोरखा एडिसन ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको छ।
मूल्य ५ लाख ९९ हजार रुपैयाँ
रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसनको नेपाली बजार मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यो मोटरसाइकल नेपालभर रहेका रोयल इन्फिल्डका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्ड विश्वका पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। कम्पनीले हाल क्लासिक, बुलेट, हन्टर, मिटियर, हिमालयन, इन्टरसेप्टर, कन्टिनेन्टल जीटी, सुपर मिटियर, गुरिल्ला र शटगनलगायत विभिन्न मोडल बिक्री गर्दै आएको छ।
आइशर मोटर्स लिमिटेडअन्तर्गत रहेको रोयल इन्फिल्डको उपस्थिति हाल विश्वका ८० भन्दा बढी देशमा विस्तार भइसकेको छ। कम्पनीले नेपालसहित विभिन्न मुलुकमा सीकेडी एसेम्बली सुविधासमेत सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।