काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६१.३४ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत ३४४ वटा स्क्रिप्टको १ करोड २१ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १६ करोड ७१ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब १ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘अहिले सेयर मार्केट साइडवेजमै चलिरहेको छ । ठूला लगानीकर्ताहरु बजारमा सक्रिय नहुँदा बजारमा टर्नओभर पनि बढ्न नसकेको अवस्था छ । ५ अर्बभन्दा मुनिको कारोबारले बजार माथि जान सक्दैन । अहिलेको बजार साइडवेजमै भएकाले तत्कालै न माथिको न तलको ब्रेक गर्न नसक्ने अवस्थामा छ ।’
उनले थपे, ‘यदि बजारमा ६ अर्बमाथिको कारोबार हुन थाल्यो भने इन्डेक्स २७ सय आसपास हुन सक्ने देखिन्छ । बजारमा भोल्युम नबढेसम्म मार्केट तत्कालै बढ्ने छाँटकाँट देखिदैन । प्राविधिक रुपमा हेर्दा पनि अहिले मार्केटलाई ब्रेकआउट गर्ने सेन्टिमेन्ट पनि देखिदैन ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतिएको छ । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.०३ प्रतिशतले बढ्यो ।
अन्य समूह आज सर्वाधिक अर्थात १.०६ प्रतिशतले घट्यो ।
यस्तै बैंकिङ समूह ०.०४ प्रतिशत, विकास बैंक ०.५४, लघुवित्त ०.४३, होटल ०.१०, हाईड्रो ०.६६, लगानी ०.१९, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.४४, निर्जीवन बीमा ०.०४ र व्यापार ०.६८ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक कारोबार भयो । यो कम्पनीको आज २६ करोड ३७ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाईड्रोको २४ करोड ५३ लाख, रिसडी पावरको १८ करोड ६७ लाख, सानिमा माई हाईड्रोको १८ करोड ४१ लाख र सानिमा मिडिल तमोरको १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य १३.८६, राप्ती हाईड्रोको ५.५१ र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ४.९९ प्रतिशतले बढ्यो ।
यो दिन धौलागिरी लघुवित्तको मूल्य सर्वाधिक अर्थात ५.२६ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।