काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारको विकास, सुधार तथा नयाँ वित्तीय उपकरणको प्रवेशबारे नेपालका विभिन्न विश्वविद्यालयमा वित्तशास्त्र अध्यापनरत प्राज्ञिक व्यक्तित्वहरूसँग पहिलोपटक नीति संवाद गरेको छ।
बोर्डको ललितपुरस्थित कार्यालयमा अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डले सार्वजनिक गरेका विभिन्न कन्सलटेसन पेपर तथा पोलिस पेपरमाथि विषय विज्ञहरूको धारणा र सुझाव लिइएको हो।
संवादमा विशेषगरी बोर्डले अघि सारेका मार्जिन ल्यान्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र उधारो तथा सापटी (SLB) र सर्ट सेलिङ सम्बन्धी अवधारणामाथि विस्तृत छलफल भएको बोर्डले जनाएको छ। साथै समग्र पुँजी बजारको विकास, सुधार र भावी नीतिगत दिशाबारे समेत विज्ञहरूसँग विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी प्राज्ञिक व्यक्तित्वहरूले पुँजी बजार विकासका लागि बोर्डले अघि सारेका रुपान्तरणकारी कार्यक्रमप्रति सकारात्मक धारणा व्यक्त गरे। नयाँ वित्तीय उपकरणहरू प्राविधिक तथा जोखिमयुक्त प्रकृतिका भएकाले तिनलाई फाइनान्सियल इन्नोभेसनका रूपमा विकास गर्दै लगानीकर्ताको वित्तीय साक्षरता अभिवृद्धिमा पनि विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो।
विज्ञहरूले नीति कार्यान्वयनअघि प्राज्ञिक क्षेत्रसँग संवाद सुरु गर्नु सकारात्मक अभ्यास भएको बताएका छन्। यस्तो संवादले वित्तीय सिद्धान्त र बजारको व्यवहारिक पक्षबीच सामञ्जस्य कायम गर्दै नयाँ नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उनीहरूको धारणा थियो।
बोर्डले आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रका विज्ञहरूसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ। बजार विकासका लागि निर्माण गरिने भावी नीतिमा विज्ञहरूको सुझाव समेटेर दीर्घकालीन नीति तय गर्दा पुँजी बजारसम्बन्धी नीतिको प्रभावकारिता र कार्यान्वयन क्षमता अझ बलियो हुने बोर्डको विश्वास छ।
नीति संवादलाई बोर्डले पुँजी बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउने प्रक्रियालाई थप अध्ययन, विज्ञ सुझाव र जोखिम व्यवस्थापनसँग जोड्ने प्रयासका रूपमा अघि बढाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।