काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जिल्लाभित्र निजी रूपमा सञ्चालनमा रहेका छात्रावास ९होस्टेल० हरूलाई प्रचलित मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। कार्यालयले छात्रावास सञ्चालनमा देखिएका विभिन्न समस्या तथा गुनासोलाई ध्यानमा राख्दै तोकिएका व्यवस्था एक महिनाभित्र अनिवार्य रूपमा पूरा गर्न सञ्चालकहरूलाई सूचित गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार निजी छात्रावासमा विद्यार्थीमाथि अमानवीय व्यवहार तथा दुर्व्यवहार हुने, तोकिएको भन्दा बढी शुल्क असुल्ने, कमजोर पूर्वाधार, सरसफाइको कमी, गुणस्तरहीन खाना तथा पानी, सुरक्षा व्यवस्थाको अभाव र लागुऔषध तथा मादक पदार्थको प्रयोगजस्ता गुनासा पटक–पटक प्राप्त हुँदै आएका छन्। केही छात्रावासलाई गुनासो तथा अनुगमनका आधारमा तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले छात्रावासमा विद्यार्थीका लागि सुरक्षित, मर्यादित र अनुशासित वातावरण सुनिश्चित गर्न सञ्चालकहरूलाई विशेष निर्देशन दिएको छ। नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहले जारी गरेका छात्रावाससम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने, छात्रावास अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गर्नुपर्ने र सञ्चालक तथा वार्डेनको विवरण जिल्ला प्रशासन कार्यालय तथा नजिकको प्रहरी इकाईमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, छात्रावासमा पर्याप्त प्रकाश तथा हावा आवतजावत हुने फराकिलो कोठा, व्यवस्थित अध्ययन कक्ष तथा पुस्तकालय, स्वच्छ खानेपानी, पर्याप्त विद्युत तथा इन्टरनेट सुविधा, गुणस्तरीय खाद्यान्न र सरसफाइको उचित व्यवस्था गर्नुपर्नेछ। छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी सोहीअनुसार मात्र शुल्क लिन पनि प्रशासनले निर्देशन दिएको छ।
आन्तरिक सुरक्षा मजबुत बनाउन संवेदनशील स्थानबाहेक अन्य क्षेत्रमा सीसीटीभी जडान, २४सै घण्टा जिम्मेवार वार्डेन तथा निजी सुरक्षाकर्मीको व्यवस्था, फायर एस्टीङगुइसर र फस्र्ट एड लगायतका अत्यावश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्नेछ। आपत्कालीन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नम्बरहरू सबैले देख्ने गरी राख्नसमेत निर्देशन दिइएको छ।
महिला तथा पुरुष दुवैका लागि सञ्चालनमा रहेका छात्रावासमा अलग्गै कार्यालय तथा आवास भवनको व्यवस्था गर्नुपर्नेछ। विद्यार्थी र सञ्चालकबीच अनिवार्य सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा छात्रावास सञ्चालन गरिएको भए घरधनीसँग लिखित घरभाडा सम्झौता गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
प्रशासनले छात्रावासमा लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। साथै, विद्यार्थीहरूलाई छात्रावासको मर्यादा, अनुशासन र सुरक्षा सम्बन्धी विषयमा नियमित प्रशिक्षण तथा मनोरञ्जनात्मक गतिविधिको व्यवस्था गर्नुपर्ने र कम्तीमा हप्तामा एकपटक प्रशिक्षण सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ।
जिल्ला प्रशासन कार्यालयले छात्रावास सञ्चालक तथा त्यहाँ बस्ने विद्यार्थीलाई एकअर्काप्रति मर्यादित र अनुशासित व्यवहार गर्न, छरछिमेकीलाई कुनै प्रकारको बाधा, व्यवधान वा होहल्ला नहुने वातावरण कायम गर्न तथा छात्रावासको समग्र सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ।
निर्देशनअनुसार तोकिएको अवधिभित्र आवश्यक मापदण्ड पूरा नगर्ने छात्रावासमाथि प्रचलित कानून तथा नियमबमोजिम कारबाही हुन सक्ने प्रशासनले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।