आईतवार, भाद्र ७,२०८३ 07:35:25
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 07:35:25
Bizshala
Global IME Bank Limited

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन सहजीकरण, व्यापार, उद्योग तथा उद्यमशीलताको विकास र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तार गरिनेछ । साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त पहल गरिनेछ ।

चेम्बर र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गरी विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपाली व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्नेछन् । निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम र स्टार्टअपलाई सहयोग गर्ने तथा क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला र सेमिनार सञ्चालन गर्ने सहमति पनि भएको छ ।

Bizshala
CG Motors

चेम्बर अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि राम्रो नीति मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए । उनले नीति तथा कानुनी संरचनामा स्थिरता र स्पष्टता नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता पूर्ण रूपमा विश्वस्त हुन नसक्ने उल्लेख गर्दै लगानी सुरक्षा, राजनीतिक स्थिरता र सहज व्यावसायिक वातावरण निर्माणमा सरकार र निजी क्षेत्रको संयुक्त पहल आवश्यक रहेको बताए ।

अग्रवालले विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान, सीप र व्यावसायिक अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिए। सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक उद्योग, व्यापारलगायत सम्भावनायुक्त क्षेत्रमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने उनको भनाइ थियो । उनले समझदारी कागजमा मात्र सीमित नभई लगानी, व्यापार, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा ठोस परिणाम दिने गरी कार्यान्वयन हुनुपर्ने बताए ।

एनआरएनए अध्यक्ष डा. शर्माले विश्वका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीको पूँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्नु प्राथमिकता रहेको बताए । उनले एनआरएनएलाई विदेशमा रहेका नेपालीको संस्थाका रूपमा मात्र नभई नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पु¥याउने साझा मञ्चका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

शर्माका अनुसार विदेशमा रहेका नेपालीसँग पूँजीसँगै प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक व्यावसायिक सञ्जालसमेत रहेको छ । यसलाई नेपालमा उपयोग गर्न व्यावहारिक पहल आवश्यक रहेको उनले बताए । गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न खोज्दा कानुनी, प्रशासनिक तथा प्रक्रियागत जटिलता अझै रहेको उल्लेख गर्दै लगानीको वातावरण सरल, सुरक्षित र विश्वसनीय बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा नयाँ व्यवसायका क्षेत्रमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने बताए । विदेशमा रहेका नेपालीको नेपाल फर्किएर व्यवसाय गर्ने चाहनालाई समेत सहज बनाउन उपयुक्त वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । विदेशमा जन्मिएका वा हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न भाषा, संस्कृति, पर्यटन, उद्यमशीलता तथा लगानीसम्बन्धी कार्यक्रम आवश्यक रहेको उनले उल्लेख गरे ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन सरकारले कानुनी तथा प्रक्रियागत जटिलता हटाउनुपर्ने बताए । एउटै परियोजनाका लागि विभिन्न निकाय धाउनुपर्ने, प्रक्रिया लामो हुने तथा नीतिगत अस्थिरता रहने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । विदेशमा आर्जन भएको पूँजी, ज्ञान, प्रविधि र सीप नेपालमा भित्र्याउन सके रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

समझदारी पाँच वर्षसम्म कायम रहने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । दुवै पक्षले आवश्यकताअनुसार संयुक्त परियोजनाका लागि बाह्य वित्तीय स्रोतसमेत जुटाउन सक्नेछन् । समग्रमा समझदारीले गैरआवासीय नेपाली समुदायको पूँजी, ज्ञान, प्रविधि र व्यावसायिक सञ्जाललाई नेपालको लगानी, उत्पादन, व्यापार विस्तार तथा आर्थिक विकाससँग जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.