सोमबार, भाद्र ८,२०८३ 02:47:36
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 02:47:36
Bizshala
Global IME Bank Limited

राहदानी विधेयकमा १७ संशोधन, निजी क्षेत्रको बायोमेट्रिक पहुँचदेखि रविको मुद्दासम्म बहस

राहदानी विधेयकमा १७ संशोधन, निजी क्षेत्रको बायोमेट्रिक पहुँचदेखि रविको मुद्दासम्म बहस
New Office

काठमाण्डौ । सरकारले अघि बढाएको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ संसद्‌मा प्रवेश गरेसँगै यसको केही संवेदनशील प्रावधानमाथि बहस चर्किएको छ । विधेयकमाथि सांसदहरूले १७ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सबैभन्दा बढी चासो विदेशमा रहेका नेपालीको बायोमेट्रिक विवरण निजी क्षेत्र वा अन्य संस्थामार्फत संकलन गर्न सकिने प्रस्तावित व्यवस्थामा देखिएको छ ।

नागरिकको औँठाछाप, अनुहार, आँखाको नानीलगायत जैविक पहिचानसम्बन्धी विवरण अत्यन्त संवेदनशील व्यक्तिगत तथ्यांक मानिन्छन् । तर यस्ता विवरण निजी संस्थालाई संकलन गर्न दिने प्रस्ताव राखिए पनि त्यसको सुरक्षा, प्रयोग, पहुँच, भण्डारण र दुरुपयोग भएमा जवाफदेही को हुने भन्ने विषय विधेयकमा पर्याप्त स्पष्ट नभएको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गरेको विधेयकको दफा ६ मार्फत मूल ऐनको दफा १० संशोधन गर्न प्रस्ताव गरिएको छ । प्रस्तावित उपदफा ७ मा विदेशमा रहेका नेपाली नागरिकको हकमा मन्त्रालयले तोकेबमोजिम निजी क्षेत्र वा अन्य संस्थामार्फत राहदानीका लागि जैविक विवरणसहितको निवेदन संकलन गर्ने व्यवस्था मिलाउन सक्ने उल्लेख छ ।

अहिले राहदानीसम्बन्धी बायोमेट्रिक संकलनको काम मूलतः सरकारी संयन्त्रबाट हुँदै आएको छ । राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत नागरिकको विवरण संकलन गरिन्छ । विदेशमा रहेका नेपालीले पनि सम्बन्धित नेपाली नियोगमा स्वयं उपस्थित भएर बायोमेट्रिक विवरण दिनुपर्ने व्यवस्था छ ।

नयाँ विधेयक जस्ताको तस्तै पारित भए यो काममा निजी क्षेत्रसमेत प्रवेश गर्न सक्नेछ । तर कस्तो योग्यता पुगेको निजी संस्था छनोट गर्ने, तथ्यांक कहाँ राख्ने, कसले पहुँच पाउने, दुरुपयोग भए कसलाई जिम्मेवार बनाउने र डेटा सुरक्षाको न्यूनतम मापदण्ड के हुने भन्नेबारे विधेयकमै स्पष्ट व्यवस्था नभएको भन्दै सांसदहरूको आपत्ति देखिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले समेत सैद्धान्तिक छलफलका क्रममा संवेदनशील व्यक्तिगत तथ्यांक निजी क्षेत्रमार्फत संकलन गर्ने व्यवस्था गर्दा त्यसको दुरुपयोग रोक्ने स्पष्ट कानुनी मापदण्ड आवश्यक रहेको बताएकी थिइन् । नेपालमा छुट्टै व्यापक डेटा संरक्षण कानुन नभएको अवस्थामा यस्तो व्यवस्था थप संवेदनशील बन्ने उनको तर्क थियो ।

विपक्षी दलका सांसदहरूले पनि यही विषयमा प्रश्न उठाएका छन् । विधेयक अब सांसदहरूले दर्ता गरेका संशोधनसहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइने प्रक्रियामा छ ।

Bizshala
CG Motors

झुटो विवरणमा कैद हटाउने प्रस्ताव

विधेयकको अर्को चर्चित पक्ष झुटो विवरण दिएर राहदानी वा यात्रा अनुमतिपत्र लिएको कसुरमा हाल कायम कैद सजाय हटाउने प्रस्ताव हो ।

प्रचलित राहदानी ऐन, २०७६ अनुसार झुटो विवरण दिएर राहदानी वा यात्रा अनुमतिपत्र लिएमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

तर प्रस्तावित संशोधनले कैदको व्यवस्था हटाएर एक लाखदेखि दुई लाख रुपैयाँसम्म जरिवानामा सीमित गर्ने व्यवस्था अघि सारेको छ । प्रस्तावअनुसार यस्तो जरिवाना राहदानी विभागका महानिर्देशकले गर्न सक्नेछन् ।

यही प्रावधानलाई लिएर राजनीतिक वृत्तमा रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित राहदानी विवादसमेत जोडेर बहस भइरहेको छ ।

अमेरिकी राहदानी कायम रहेकै अवस्थामा नेपाली राहदानी लिएको आरोपमा लामिछानेविरुद्ध मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेका थिए ।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट मुद्दा अघि बढाउने आदेश आएमा पछि बनेको संशोधित कानुनको सजायसम्बन्धी व्यवस्था कस्तो रूपमा लागू हुन्छ भन्ने कानुनी प्रश्न उठ्न सक्ने देखिन्छ ।

विधिशास्त्रमा कसुर हुँदाको कानुनका आधारमा कसुरको परीक्षण हुने भए पनि पछि बनेको कानुनले सजाय कम गरेको अवस्थामा अभियुक्तले त्यसको लाभ पाउन सक्ने सिद्धान्त प्रयोग हुने गरेको छ । तर लामिछानेको हकमा यस्तो सुविधा लागू हुने वा नहुने विषय अन्ततः सर्वोच्च अदालतको व्याख्या र निर्णयमै निर्भर हुनेछ ।

यदि सर्वोच्च अदालतले महान्यायाधिवक्ताको मुद्दा नचलाउने निर्णयलाई सदर गरिदियो भने राहदानीसम्बन्धी फौजदारी कारबाही अघि नबढ्ने भएकाले नयाँ सजायको व्यवस्थाको प्रश्नसमेत उठ्ने छैन ।

विदेशमा अलपत्र नेपालीका लागि अस्थायी राहदानी

विधेयकले विदेशमा उद्धार आवश्यक परेका वा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई अस्थायी राहदानी दिन सकिने व्यवस्था पनि पहिलोपटक प्रस्ताव गरेको छ ।

यसले आपत्कालीन अवस्थामा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन वा आवश्यक यात्रा सहजीकरण गर्न कानुनी आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

अब सांसदहरूले दर्ता गरेका १७ संशोधन प्रस्ताव र सरकारले ल्याएको मूल विधेयकमाथि संसदीय समितिमा दफावार छलफल हुनेछ । त्यही छलफलबाट निजी क्षेत्रको बायोमेट्रिक पहुँच, डेटा सुरक्षा, सजाय घटाउने प्रस्ताव र अस्थायी राहदानीसम्बन्धी व्यवस्थाको अन्तिम स्वरूप तय हुने छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.