मंगलवार, भाद्र ९,२०८३ 08:40:33
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 08:40:33
Bizshala
Global IME Bank Limited

अब सेयर बेचेपछि ईडीआईएस गर्नुपर्ने झन्झट हट्ने, ‘अटो ईडीआईएस’ प्रणाली ल्याउन सीडीएससीलाई निर्देशन

टीएमएस र मेरो सेयरबीच एपीआई इन्टिग्रेसन गरिने; आईपीओदेखि लकइनसम्मका सूचना मोबाइलमै, रियल टाइम सेटलमेन्ट ड्यासबोर्ड पनि बन्ने

अब सेयर बेचेपछि ईडीआईएस गर्नुपर्ने झन्झट हट्ने, ‘अटो ईडीआईएस’ प्रणाली ल्याउन सीडीएससीलाई निर्देशन
New Office

काठमाडौं। लगानीकर्ताले सेयर बिक्री गरेपछि ‘मेरो सेयर’मा गएर छुट्टै ईडीआईएस गर्नुपर्ने झन्झट हटाउने प्रक्रिया अघि बढेको छ। नेपाल धितोपत्र बोर्डले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) र मेरो सेयरलाई एपीआईमार्फत एकीकृत गरी ‘अटो ईडीआईएस’ प्रणाली लागू गर्ने व्यवस्था मिलाउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई निर्देशन दिएको हो।

बोर्डले अटो ईडीआईएस लागू गर्न आवश्यक कानुनी तथा संस्थागत सुधारबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न सीडीएससीलाई भनेको छ। यो व्यवस्था लागू भएपछि लगानीकर्ताले सेयर बिक्री गरेपिच्छे मेरो सेयरमा लगइन गरी ‘माई पर्चेज सोर्स’ अद्यावधिक गर्ने र ईडीआईएसमार्फत सेयर हस्तान्तरण स्वीकृति दिनुपर्ने विद्यमान प्रक्रिया स्वचालित हुन सक्नेछ।

अहिले निर्धारित समयभित्र ईडीआईएस नगर्दा सेयर हस्तान्तरण असफल हुने र लगानीकर्ताले ‘क्लोजआउट’बापत जरिवाना बेहोर्नुपर्ने जोखिम छ। अटो ईडीआईएस प्रणाली कार्यान्वयन भए कारोबार र राफसाफ प्रक्रिया सहज हुनुका साथै मानवीय त्रुटिका कारण हुने क्लोजआउटसमेत घट्ने अपेक्षा गरिएको छ।

धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सीडीएससीलाई पाँचबुँदे निर्देशन जारी गरेको हो।

Bizshala
CG Motors

आईपीओदेखि लकइनसम्मको सूचना मोबाइलमै

बोर्डले सीडीएससीमार्फत लगानीकर्तालाई विभिन्न महत्त्वपूर्ण सूचना तत्काल ‘पुस नोटिफिकेसन’बाट पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ।

अब आईपीओ निष्कासनको सूचना, आईपीओ आवेदन, बोनस तथा हकप्रद सेयर निष्कासन, लाभांश वितरण, कारोबार राफसाफ, डिम्याट खाताबाट सेयर घटेको विवरण तथा लकइन अवधिसम्बन्धी सूचना लगानीकर्ताको मोबाइलमा तत्काल पठाउने प्रणाली विकास गर्नुपर्नेछ।

यसबाट लगानीकर्ताले कम्पनीका सूचना, सेयर बाँडफाँट, खातामा भएको परिवर्तन र लकइन अवधि समाप्त हुने मितिबारे समयमै जानकारी पाउन सक्नेछन्।

टीएमएसमा देखिने सेयर संख्या स्वतः अद्यावधिक

अहिले नेप्सेको टीएमएसमा देखिने ‘डीपी होल्डिङ’ र सीडीएससी तथा मेरो सेयरमा रहेको लगानीकर्ताको वास्तविक सेयर संख्याबीच फरक देखिने समस्या छ। बोर्डले यस्तो समस्या समाधान गर्न दुवै प्रणालीबीच स्वचालित रूपमा हिसाब मिलान अर्थात् ‘रिकन्सिलिएसन’ गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

सीडीएससीले लगानीकर्ताको बीओआईडीअनुसार सेयर संख्या र डीपी विवरण मिलाउनुपर्नेछ। बोनस, हकप्रद तथा सेयर हस्तान्तरणलगायत ‘कर्पोरेट एक्सन’पछि टीएमएसमा देखिने होल्डिङ स्वतः अद्यावधिक हुने व्यवस्था पनि गर्नुपर्नेछ।

यो प्रणाली लागू भएपछि टीएमएसमा बिक्री गर्न मिल्ने भनेर देखिएको सेयर वास्तविक डिम्याट खातामा नभेटिने वा खातामा सेयर भए पनि टीएमएसमा नदेखिने समस्या कम हुने अपेक्षा गरिएको छ।

मेरो सेयरमै ‘रियल टाइम सेटलमेन्ट ड्यासबोर्ड’

बोर्डले मेरो सेयर प्रणालीमा कारोबारको वास्तविक समयको राफसाफ अवस्था देखाउने ‘रियल टाइम सेटलमेन्ट स्टाटस ड्यासबोर्ड’ विकास गर्न पनि सीडीएससीलाई निर्देशन दिएको छ।

ड्यासबोर्ड सञ्चालनमा आएपछि लगानीकर्ताले आफ्नो कारोबार कुन चरणमा छ, सेयर हस्तान्तरण भयो वा भएन र राफसाफ सम्पन्न हुन बाँकी छ वा छैन भन्ने विवरण मेरो सेयरबाटै हेर्न सक्नेछन्।

यसले कारोबार सम्पन्न भएपछि सेयर वा रकम कहाँ रोकिएको छ भन्ने अन्योल घटाउनुका साथै राफसाफ प्रणालीलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

बिक्री रकम टी प्लस टूभित्रै

बोर्डले धितोपत्र कारोबारको ‘टी प्लस टू’ अवधिभित्र ग्राहकलाई बिक्री रकम उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सीडीएससीलाई निर्देशन दिएको छ।

यसअघि नेप्से र सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई पनि टी प्लस टूभित्र लगानीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएको थियो। बोर्डले नेप्से, सीडीएससी र ब्रोकर तीनै निकायलाई एउटै विषयमा निर्देशन दिएसँगै सेयर बिक्रीको रकम भुक्तानीमा हुने ढिलाइ नियन्त्रण गर्ने प्रयास थप कडा बनेको छ।

आंशिक सेयरको समस्या समाधान गर्न अध्ययन

लगानीकर्ताबाट आउने ‘फ्र्याक्सन सेयर’ अर्थात् पूर्ण एक कित्ता नपुग्ने आंशिक सेयरसम्बन्धी गुनासा समाधान गर्न आवश्यक व्यवस्था मिलाउने विषयमा अध्ययन गर्न पनि सीडीएससीलाई निर्देशन दिइएको छ।

सीडीएससीले आंशिक सेयरसम्बन्धी विद्यमान समस्या, त्यसको कारोबार वा व्यवस्थापनको सम्भावित विधि तथा आवश्यक कानुनी व्यवस्थाको अध्ययन गरी सुझावसहितको प्रतिवेदन बोर्डमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X