काठमाडौं। रसुवाको भोटेकोसीमा आएको भीषण बाढी धादिङको गल्छी आसपास आइपुगेको छ। बाढी आगामी केही घण्टाभित्र मुग्लिन क्षेत्र पार गर्ने क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले भदौ १० गते बिहान १०:५१ बजे सूचना जारी गर्दै पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणघाट राजमार्ग आसपासका बस्ती र बजार क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेको हो।
भोटेकोसी हुँदै त्रिशूली नदीमा मिसिएको बाढीको बहाव गल्छीबाट तल्लो तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेको महाशाखाले जनाएको छ। यसले नदी किनारका बस्ती, बजार, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउन सक्ने जोखिम बढाएको छ।
महाशाखाले विशेषगरी पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट राजमार्ग र त्रिशूली नदी आसपास बसोबास गर्ने नागरिकलाई नदी किनारबाट टाढा जान तथा अग्लो र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दाले ढिलाइ नगरी सुरक्षित स्थानमा सर्नुपर्ने चेतावनी दिइएको छ।
बाढीको बहाव हेर्न नदी किनारमा नजान, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ। नदीको जलसतह र बाढीको गतिमा आकस्मिक परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई निरन्तर उच्च सतर्कतामा रहन भनिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।