काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे सर्वसाधारणलाई पूर्वसूचना उपलब्ध गराउन बाढी पूर्वानुमान महाशाखाले करिब ७ लाख एसएमएस पठाएको जनाएको छ।
महाशाखाका अनुसार भोटेकोशीमा बाढीको अवस्था देखिन थालेदेखि नै घटनाको निरन्तर अनुगमन गरिएको थियो। बाढीको सम्भावित जोखिमबारे विभिन्न चरणमा सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका नागरिकलाई पूर्वसूचना तथा सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ।
महाशाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रलाई प्रारम्भिक सतर्कता सूचना जारी गरेको थियो। नदीको जलस्तर बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन भनिएको थियो।
त्यसैगरी, पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको महाशाखाले जनाएको छ। बाढीका कारण नदी तटीय क्षेत्रसँगै सडक तथा यातायातमा समेत जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो सूचना जारी गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।